बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधन, प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा महारानीको निधनमा गहिरो दुःख व्यक्त

नेपालले एक महान् प्रशंसक गुमाएको छ: प्रधानमन्त्री देउवा

काठमाडौं, २३ भदौ -बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधन भएको छ । उनको आज ९६ वर्षको उमेरमा निधन भएको हो । उनले बेलायतमा ७० वर्षसम्म शासन गरेकी थिइन् । बकिङ्घम प्यालेसले रानी एजिलाबेथ द्वितीयको निधन भएको पुष्टि गरेको छ । अब उनका ७३ वर्षीय छोरा चार्ल्स बेलायतको नयाँ राजा बन्ने छन् ।

 

 

महारानी एलिजाबेथको जन्म २१ अप्रिल १९२६ मा लण्डनको मेयफेयरमा भएको थियो । उनको वास्तविक नाम एलिजाबेथ एलेक्सान्ड्रा मेरी विन्डसर हो । एलिजाबेथ १९५२ मा बेलायतको महारानी बनेकी थिइन् ।

महारानी एलिजाबेथ द्वितीय गोर्खालीकै सुरक्षा घेरामा बेलायतको राजदरबारमा हुर्के/बढेकी हुन् । दुई पटक नेपाल आएकी उनी नेपालीलाई माया गर्ने बेलायती महारानीका रूपमा चिनिन्छिन् । सात दशक सत्ता सम्हालिसकेकी उनले नेपालसहित विश्वका १ सय १७ मुलुक घुमिसकेकी छन् । 

 

 

 

नेपालमा समेत लोकप्रिय रहेकी उनले दुई पटक नेपालको राजकीय भ्रमण गरेकी थिइन् । परराष्ट्र मन्त्रालयका अनुसार एलिजाबेथ द्वितीय र राजकुमार प्रिन्सले सन् १९६१ र १९८६ मा नेपालको दुई पटक भ्रमण गरेका हुन् । दोस्रो विश्वयुद्धपछि अमेरिकाले नेतृत्व गरेको पश्चिमा र तत्कालीन सोभियत युनियनबीच शीतयुद्धको समय चलिरहँदा एलिजाबेथ–दम्पती नेपाल आएको थियो । सन् १९६१ मा पहिलो पटक आउँदा उनीहरूलाई काठमाडौंको त्रिभुवन विमानस्थलमा तत्कालीन राजा महेन्द्र र रानी रत्नले स्वागत गरेका थिए ।

गत जेठमा बेलायतस्थित नेपाली र ब्रिटिस गोर्खा समुदायले पनि रानीको हीरक महोत्सव विभिन्न कार्यक्रम गरी मनाएको थियो भने नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले सैनिक परेड, ‘थ्यांक्स गिभिङ’ र रिसेप्सन समारोहमा सहभागिता जनाएका थिए । उक्त अवसरमा नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले पनि महारानीलाई बधाई सन्देश पठाएकी थिइन् ।

बेलायतको इतिहास बोकेकी महारानी एलिजाबेथले पछिल्लो पटक गत चैत तेस्रो साता नेपाली राजदूत आचार्यसँग संवाद गरेकी हुन् । राजदूत आचार्यले बकिङ्घम प्यालेसमा आफ्नो ओहदाको प्रमाणपत्र पेस गर्ने क्रममा भिडियो लिंकमार्फत विन्डसोर क्यासलस्थित आफ्नो निवासबाटै जोडिएकी महारानीले आफ्नो ऐतिहासिक नेपाल भ्रमण सम्झेकी थिइन् । करिब १० मिनेटको उक्त संवादका अवसरमा बेलायत–नेपाल सम्बन्ध थप सुमधुर बन्ने आशासमेत व्यक्त गरेकी थिइन् । महारानीले बेलायत र नेपालबीच सदियौं लामो मैत्रीपूर्ण तथा आत्मीय सम्बन्धको पनि चर्चा गरेको राजदूत आचार्यले जानकारी दिएका थिए । त्यस अवसरमा आचार्यले नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट महारानी र बेलायती जनतालाई पठाएको शुभकामना सन्देश सुनाएका थिए ।

 

 

सन् १९९१ मा करिब एक वर्षसम्म बकिङ्घम दरबारमा सुरक्षामा खटिएका भूतपूर्व ब्रिटिस गोर्खा सैनिक मेजर सुर्जाबहादुर थापा एलिजाबेथ द्वितीयलाई नेपाल र नेपालीलाई माया गर्ने महारानी मान्छन् । उनले दरबारमा हुने हरेक कार्यक्रममा महारानीको सुरक्षामा आफू खटिएको कान्तिपुरलाई बताए । पुरानो घर स्याङ्जा भएका र हाल काठमाडौंमा बस्ने थापाले बेलायती सेनामा सन् १९६५ देखि १९९५ सम्म काम गरेका थिए । उनले महारानी सामान्य व्यक्ति जस्तै गरी आफूहरूसँग पनि बोल्ने गरेको बताए । ‘हाम्रो ड्युटी हुँदा महारानीलाई कार्यक्रम हुने हलमा जाने र ल्याउने व्यवस्था थियो, महारानीले नेपालका बारेमा बोल्नुभएन तर उहाँलाई म नेपालको भन्ने थाहा थियो,’ उनले त्यस बेलाको घटना सम्झिए, ‘कार्यक्रम सकेपछि तपाईंहरू कहाँ जानुहुन्छ भनेर सोध्नुहुन्थ्यो । त्यसबाहेक हाम्रो संवाद हुँदैन थियो । कार्यक्रमअघि सुरुवातमा महारानीलाई भेट्दा उहाँले तपाईंहरू आइदिनुभयो, धन्यवाद भन्नुहुन्थ्यो । कार्यक्रम सकिएपछि छोड्ने बेलामा पनि धन्यवाद भन्नुहुन्थ्यो ।’ उनले आफूलाई ‘मेम्बर अफ भिक्टोरियन अडर क्यास–४’ सम्मान गरेको थापाले बताए ।

नेपाल र बेलायतबीच सन् १८१६ मा सुगौली सन्धि भएलगत्तै दुई मुलुकबीच कूटनीतिक सम्बन्ध स्थापना भएको हो । नेपालले पहिलो कूटनीतिक सम्बन्ध स्थापना गरेको मुलुक बेलायत नै हो । त्यसपछि नेपालीहरू ब्रिटिस गोर्खामा भर्ती हुन थालेका हुन् । सन् १९४७ मा बेलायतीहरू भारतलाई स्वतन्त्र छाडेर फर्किने बेलामा तीन मुलुकबीच ब्रिटिस गोर्खामा नेपालीलाई भर्ती लिने त्रिपक्षीय सन्धि भएको थियो । त्यही सन्धिका आधारमा नेपाली अहिले पनि ब्रिटिस गोर्खा र भारतीय गोर्खामा भर्ना भइरहेका छन् । सन् १८१६ देखि नै बेलायतीको सुरक्षामा नेपाली गोर्खाले सहयोग गर्दै आइरहेका छन् । महारानी एलिजाबेथको सुरक्षा जिम्मेवारी पनि नेपालीकै हातमा रहँदै आएको छ । त्यसैले उनी सधैं नेपालीकै सुरक्षाको साथमा छिन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा महारानीको निधनमा गहिरो दुःख व्यक्त

प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त अधिराज्य बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधनमा गहिरो दुःख व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री देउवाले उहाँको निधनको खबर पाउँदा आफूलाई धेरै दुःख लागेको बताउनु भएको छ । 

ट्विटरमार्फत प्रधानमन्त्री देउवाले दिनुभएको शोक सन्देशमा महारानी एलिजाबेथमा अन्य संस्कृति र मानवताप्रतिको दया, सादगी र सम्मानजस्ता गुणहरू रहेका र जसका कारण नेपाली जनताले रानीलाई मायापूर्वक सम्झन्छन् भन्नुभएको छ । 

प्रधानमन्त्रीको सन्देशमा भनिएको छ, ‘‘उहाँको निधनले नेपाल र नेपाली जनताले एक महान् प्रशंसक गुमाएको छ, म राजपरिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछु ।’’

रानी एलिजाबेथ द्वितीयले सन १९६१ र १९८६ मा दुई पटक नेपालको औपचारिक राजकीय भ्रमण गर्नुभएको थियो । त्यसैले नेपाल र नेपाली जनताले रानी एलिजाबेथलाई नेपालमा मायापूर्वक सम्झिने गरिएको प्रधानमन्त्रीको सन्देशमा समावेश छ । रानीको बिहीबार ९१ वर्षको उमेरमा निधन भएको थियो । उहाँले बेलायतमा सबैभन्दा लामो ७० वर्ष राजकाज सम्हाल्नु भएको थियो ।

प्रतिकृया दिनुहोस

रुसी यानबाट फर्कंदै अमेरिकी अन्तरिक्षयात्री

काठमाडाैं-झण्डै एक वर्ष अन्तरिक्षमा रहेका अमेरिकी अन्तरिक्षयात्री मार्क भान्डे हेई रुसी यानबाट पृथ्वीमा फर्कने तयारीमा छन्। रुसले युक्रेनमा

पोल्यान्डकी क्यारोलिनालाई विश्व सुन्दरीको उपाधि

काठमाडौँ,चैत्र - पोल्यान्डकी क्यारोलिना बिलावस्काले विश्व सुन्दरीको उपाधि जितेकी छन् । अमेरिकाको पोर्तेओमा सम्पन्न ७० औं संस्करणको विश्व

रुसी सेनाद्वारा दक्षिणी युक्रेनको खेरसन शहर कब्जा

 रूसी सेनाले युक्रेनको रणनीतिक रूपमा महत्त्वपूर्ण शहर खेरसन कब्जा गरेको न्यु योर्क टाइम्सले युक्रेनी अधिकारीहरूलाई उद्धृत गर्दै उल्लख गरेको छ