नेपालको दिव्य तिर्थ बडीमालिका : धरतीको स्वर्ग

सुदूरपश्चिम प्रदेश सेती अञ्चलको बाजुरा जिल्लाको त्रिवेणी नगरपालिकामा पर्ने बडीमालिका नेपालको सून्दर पर्यटकीय गन्तब्य

दिव्ब तिर्थ बडीमालिका : धरतीको स्वर्ग

बडीमालिका नेपालका प्रमुख मन्दिरहरूमा एक हो । बडीमालिका  सुदूरपश्चिम प्रदेश सेती अञ्चलको बाजुरा जिल्लाको त्रिवेणी नगरपालिकामा पर्दछ ।  बडीमालिकाले बाजुरा, कालिकोट र अछाम जिल्लाका सिमाना छुन्छ ।    यहाँ प्रत्येक वर्ष मालिका चतुर्दशीका दिन मुख्य पूजा हुन्छ । बडीमालिकामा  त्रिवेणी नगरपालिका वडा नं ९ पैमा बाजुरा निवासी  मौदगल्य गोत्रका टिमिल्सेना ब्रम्हाण  पुजारीले पूजा गर्छन् । यीमध्ये १ जना कालिकोटबाट आउँछन् भने अर्को १ जना बाजुराका पुजारी छन् ।

किंवदन्ती

पौराणिक कथा अनुसार महादेवकी पत्नी सतिदेवीका पिता दक्ष प्रजापतिले यज्ञा गर्दा महादेव र सतिलाई बोलाएनन् । सतिदेवि दक्ष प्रजापतीको यज्ञा स्थलमा गएर पितासँग आफ्ना पति महादेवलाई नबोलाउनाको कारण सोधिन् । दक्ष प्रजापतीले महादेव भाङधतुरो सेवन गर्ने, श्मसानमा वास गर्ने, गलामा सर्पको माला लगाउने, जटाधारी भेषमा रहने, शरीरभरि खरानी घस्ने, बाघको छालाको पहिरन गर्ने हुनाले यो यज्ञमा बस्दा शोभा भएकाले नबोलाएको भनी उत्तर दिए । आफ्ना पतिको यस्तो अपमान सहन गर्न नसकेर सतिदेविले यज्ञाकुण्डको अग्नीमा हाम फालेर प्राण त्याग गरिन् । त्यसपछी महादेव रिशाएर विरभद्रादी शिवगणलाई पठाएर दक्षलाई मारी दक्षको यज्ञा तहस नहस पार्न लगाए । त्यसपछी महादेव पत्नी वियोगमा पागल भएर सतिदेवीको मृत शरिर बोकेर पुरा विश्व घुम्न थाले । यसै बेला भगवान बिष्णुले आफ्नो चक्र सुदर्शण प्रहार गरी किरा पारेर सतिदेविको मृत शरिर कुहाए । यसरी ठाउँ ठाउँमा सतिका अङ्गहरू पतन हुँदै (झर्दै) खस्न थाले । यसरी ठाउँ ठाउँमा सतिका अङ्गहरू पतन हुँदै (झर्दै) खस्न थालेपछी जहाँ जहाँ सतिका अङ्ग पतन भए त्यहाँ त्यहाँ एक एकवटा सिद्ध पिठ बन्दै गए । यसै क्रममा मल्लागिरी प्रवतमा सतिको बायाँ कुम पतन भयो । त्यसै मल्लागीरीलाई अहिले मालिका भनिन थालियो । र यहाँ मल्लिका अथवा मालिका देवी शक्ति स्वरूपले रहन थालिन् । तसर्थ यस स्थानमा बडिमालिका मन्दिर स्थापना गरेर पूजा गर्न थालियो ।

सरकारी पूजा

यस मन्दिरमा  त्रिवेणी नगरपालिका वडा नं ९ पैमा निवासी  मौदगल्य गोत्रका टिमिल्सेना ब्रम्हाण रहेका छन । बडीमालिकाको गरगहना राख्नका लागि त्रिवेणी नगरपालिका वडा नं ९ पैमामा भण्डारगृह रहेकाे छ । भण्डारगृहको मा माथिल्लो तलामा बडीमालिका देवीको मन्दिररहेको छ । साे मन्दिरमा नित्य अखण्ड दिप प्रज्वलित छ । शारिरीक अवस्था र अन्य कुनै बिशेष अवस्थाले बडीमालिका जान नसक्ने मानिसहरुले   त्रिवेणी नगरपालिका वडा नं ९ पैमामा रहेको भण्डार गृहमा पूजा आजा गर्ने गर्दछन ।   जनै पूर्णिमा अबसरमा गरिने पूजामा  डोटीअछामबाजुराकालिकोट र जुम्लाका प्रमुख जिल्ला अधिकारी तथा अन्य कर्मचारीहरूको हातबाट देवीको सरकारी पूजा सम्पन्न हुन्छ।  डाेटी र जुम्ला टोलीले  बाइसेचौबिसे राज्य भएकै समयमा सरकारी टोलीका रुपमा पूजा गर्न टोली पठाउने गरेका पाइन्छ । अहिले त्यहि प्रचलनको  देखासिकि गरेर बाजुरा र कालिकोट जिल्लाबाट पनि पूजा टोली पठाइन्छ ।

अदभुत शक्ति भएको बाजुराको एक प्रशिद्ध धार्मिक एबम् पर्यटकीय स्थल बडीमालिका

प्राकृतिक सौन्दर्य

बडीमालिका धार्मिक मात्र नभएर पर्यटकिय हिसावले पनि महत्त्वपूर्ण मानिन्छ । नजिकै देखिने सुन्दर हिमाल, हिउँ कुल्चन पाउने सौभाग्य र मनोरम प्राकृतिक दृश्यहरू बडीमालिकाका गहना हुन् । बडीमालिकाको सौन्दर्य भनेकै विशाल फाँटहरू हुन् । तर अचेल यी फाँटहरू बिस्तारै मासिँदै छन् । यी फाँटमा अनावश्यक चरन र जडीबुडी चोरी निकासीका कारण यसको सौन्दर्य मासिएको जिल्लाबासीको गुनासो छ । बडीमालिकामा प्रत्येक वर्ष जनै पूर्णिमाका दिन ठूलो मेला लाग्छ । त्यो समयमा केही स्थानीय व्यापारीले पसल राख्ने गर्छन् । अन्य समयमा त्यहाँ पसलहरू खासै भेटिँदैनन् । बडीमालिका मन्दिरमा दर्शन गरेपछि आफ्नो मनोकांक्षा पूरा हुने जनविश्वास छ । मन्दिर परिसरबाट आँखै अगाडि देखिने सैपाल हिमालको मनोरम दृश्यले यहाँको सौन्दर्यलाई झनै तिखारेको छ । बडीमालीका पुग्नका लागि उचित बास बस्ने स्थान नभएका कारण भक्तजन तथा पर्यटकले खानपिन तथा बासको जोहो आफै गर्नुपर्छ । मन्दिर व्यवस्थापनले भक्तजनहरूलाई बास बस्नका लागि एउटा धर्मशाला बनाइदिएकाले भक्तजनहरू त्यहीँ बास बस्ने गर्छन् । बडिमालीकामा सरकारको पहुँच नभएका कारण त्यहाँबाट जडीबुडीको चोरी निकासी हुने गरेको छ । सरकारले बडीमालीका जाने स्थानमा चेकपोष्ट राख्नुपर्ने उनको माग छ ।  हरेक वर्ष भदौमा यहाँ मेला लाग्छ । मुलुकका विभिन्न जिल्लाका साथै भारतबाट पनि तीर्थालुहरू यहाँ मेला भर्न आउँछन् । भक्तजनहरूले आफूले मागेको वरदान पूरा हुन्छ भन्ने विश्वास गर्छन् । हालसम्म गंगा दशहरा र जनैपूणिर्मा गरी वर्षको दुईपटक मात्र चल्दै आएको औपचारकि मेलाका कारण बडीमालिकाको महत्त्व सीमित छ । गाडीबाट बडीमालिका जान धनगढी वा नेपालगन्जबाट बाजुरा पुग्नुपर्छ । सुदुर पश्चिमका पयर्टकीय स्थानहरूमा अति महत्त्वपूर्ण स्थलको रूपमा चिनिने बडिमालिका धार्मीक तथा ऐतिहासिक दृष्टीले महत्त्वपुर्ण मानिन्छ । मन्दिरमा पुग्न बाजुरा जिल्लाको त्रिवेणी नगरपािलकाका  कैलाशमाडौं, छतारा र भण्डार गृह, पैमाबाट २ दिन र  सदरमुकाम मार्तडी बजारबाट पैदल हिंडेर जाँदा २ -३ दिनमा पुग्न सकिन्छ । यहाँ पुग्न जो कोहीलाई हम्मे हम्मे पर्दछ । आफुलाई आवश्यक पर्ने चामल पिठो, ओढ्ने ओछाउने र लगाउने कपडा, पकाउने र खाने भाँडाका साथै अन्य सरसमानहरू बोकेर दुर्गम बाटो, उकाली ओराली, भिर पहरा र भञ्ज्याङहरू पार गरेर यहाँ पुग्न कम चुनौती पूर्ण छैन । अग्लो चुचुरोमा रहेको बडिमाईको मन्दिर वरपर विभिन्न प्रकारका सुन्दर फूलहरूले र २२ पाटन (हरिया फाँट)हरूमा चर्दै गरेका भेडाबाख्राभैंसी आदी जनावरहरूले यहाँको शोभा बढाएको हुन्छ । त्यस्तै गोठालाहरू र यात्रीहरूको मुखबाट गुन्जिने सुरिला देउडा भाकाले झनै यस ठाउँको सौन्दर्यता बढाउछ । यती हुँदा हुँदै पनि यो ठाउँ पर्यटकिय केन्द्र विन्दु बन्न सकिरहेको छैन । यसको थप प्रचार प्रसार गरेर नेपालको पर्यटकिय स्थलको रूपमा चिनाउन आवश्यक छ । 

अलौकिक बडीमालिका

वसन्तप्रताप सिंहविद्या राई ( साभार ;सर्बाेतम नारी)

 

कार्तिक २१, २०७९ बाजुरा सदरमुकाम मार्तडीबाट सुरु हुन्छ, बडीमालिकाको पद यात्रा । कोदो, कागुनो र मार्सी झुलेका कान्लाहरू कटेपछि बाँझ, फलाँट, खस्रु, भिड्या, गुराँस र ठिन्क्याको घना जंगल छिचोल्दै उकालो लागेपछि पुगिन्छ, फूल चढाउन पाटन । अनि देखिन थाल्छन्, अलौकिक र विशेष दृश्यहरू । 

बुकीघाँसको हरियो तन्नाले ढाकिएका मैदान (पाटन) हरूमा सयौं रंगीचंगी फूल । कतै हरियालीमा फूलको रंगीचंगीले पाटन नै राता र पहेंला भएका छन् । कुनै पाटनमा सिपालु चित्रकारले सिर्जना खन्याएर कोरेका चित्रजस्तै हरियाली र फूलबुट्टाको सुन्दर संयोजन चित्ताकर्षक देखिन्छ । 

अलौकिक सुन्दरताले भरिएका विशाल पाटनमा चरिरहेका भेंडाहरू, लडीबुडी खेल्दै रमाइरहेका घोडाहरू, भैंसीका घाँटीमा झुन्डाइएका घाँडाँ (घण्टी) को र्‍यााईंर्‍याईं आवाजले यहाँको धर्तीलाई मधुमय बनाइरहेको भान हुन्छ । कतै छङछङ गर्दै बगेका छहराको संगीत, कतै दोभान र त्रिवेणीमा मिल्न हतार–हतार ओरालो झर्दै गरेका दूधजस्तै खोला–नदीको मधुर सुसाहट । अनि चुलेसीको धारजस्तै देखिने भीरमा कमिलाको ताँतीजस्तै हिँडिरहेका श्रद्धालुहरूको लस्कर । जता हेर्‍यो, उतै आँखा टाँसिने दृश्यले बडीमालिका पुग्ने जोकोहीलाई स्वर्गीय आनन्दको अनुभूति हुन्छ । 

यात्राका दौरान फूल चढाउन पाटन, सोतापाटन, घोडापाटन भिती छिर्ना, त्रिवेणी, लौरी विनाई हुँदै बडीमालिका मन्दिर पुगिन्छ । जुन समुद्री सतहदेखि ४ हजार २ मिटरको उचाइमा छ । जनैपूर्णिमाको त्रयोदशीका राति बडीमालिकामा बास बसेर चतुर्दशीको बिहानै यहाँ पूजा गरिन्छ । 

बडीमालिकामा पूजा सकेर फिरफिरेको डाँडो हुँदै विष्णुपानी, चङखेली, लिस्ने गौडी, बूढीमाईको स्थान हुँदै धर्मघर, बल्ले ढिकुरा, ठूलागडा, धौलपुरी दहबाट एकै दिनमा त्रिवेणी नगरपालिकास्थित प्रसिद्ध धार्मिकस्थल नाट्येश्वरी मन्दिर पुगिन्छ । चतुर्दशीको साँझदेखि जनैपूर्णिमाको दिनसम्म यहाँ भव्य मेला लाग्छ । यात्राका क्रममा क्षणक्षणमा परिवर्तन भैरहने मौसम । घाम र कुहिरोको रोमाञ्चक लुकामारी अनि आफू हिँडिरहेको ठाउँभन्दा निकै तल उडिरहेको बादलले धार्मिक चलचित्रहरूमा देखिने स्वर्ग यही होकि भन्ने अनुभूति हुन्छ । बिहानी घामको लालिमा छरिँदा हरिया पाटनहरू स्वर्णिम रंगमा बदलिएको दृश्य उस्तै मनमोहक हुन्छ । उसो त बाजुरामा बडीमालिका क्षेत्रको वर्णन गर्ने एउटा देउडा गीत निकै प्रचलित छ । ‘नन्दा घर नन्दादेवी कोटघर कालिका, बाजुरा वैकुण्ठ रैछ धन्य हो मालिका’ । 

 

 

कसरी पुग्ने ?

बडीमालिका क्षेत्र ठूलो र फराकिलो छ । यो बाजुरा, अछाम र कालीकोट जिल्लाको संगमस्थलमा पर्छ । प्राकृतिक, धार्मिक तथा पर्यटकीय सम्भावना बोकेको बडीमालिका क्षेत्र जुनसुकै सिजनमा घुमघाम गर्न सकिन्छ । वर्षामा घुम्दा हरियाली पाटनहरूले मन्त्रमुग्ध पार्छन् । अक्टोबरपछि घुम्दा हिमशृंखलाहरूको दृश्यपान गर्न सकिन्छ । हिउँ पर्ने सिजनमा जाडो छल्न गाह्रो भएपनि हिउँसँग रमाइलो साट्न सकिन्छ । यहाँ खाने–बस्ने व्यवस्थित होटल छैनन् । यसकारण खानेकुरा, स्लिपिङ व्याग, टेन्ट, प्राथमिक उपचारको किटको व्यवस्था गरेर हिँड्नुपर्छ । खर्कहरूमा पनि खान–बस्नका लागि ‘एडजस्ट’ हुन सकिन्छ । तर मेलाको समयमा भने बाटोबाटोमा त्रिपाल टाँगेर अस्थायी होटलहरू चलाइएको हुन्छ । हजारौं दर्शनार्थीको घुइँचो लाग्ने हुँदा केही खानेकुरा आफैले व्यवस्था गरेर हिँड्नु उचित हुन्छ । काठमाडौंबाट बाजुराको मार्तडी हुँदै बडीमालिका पुगेर नाट्येश्वरी मन्दिर हुँदै काठमाडौं फिर्ता हुँदा करिब आठ दिन लाग्छ । यसमा काठमाडौं–धनगढी, धनगढी–काठमाडौं हवाईयात्रा पर्छन् । यति समयभित्र घुमघाम गर्दा घुमघामका लागि ‘ट्रेकिङ सुज’, झोला, स्टिकलगायत खानेकुरा र आठ दिन यात्रामा न्यूनतम ६५ हजारदेखि ७५ हजारसम्म प्रतिव्यक्ति खर्च हुन्छ । बसयात्रा गर्दा यति धेरै खर्च लाग्दैन तर त्यति नै मात्रामा समय बढी लाग्छ । बडीमालिका यात्राभर लठ्ठी वा ट्रेकिङ स्टिक भने अनिवार्य चाहिन्छ । किनभने त्रिवेणीधामदेखि बडीमालिका उक्लिँदा र नाट्येश्वरी झर्दासम्म एकदमै भिरालो, जोखिमपूर्णसाँघुरा बाटाहरू पर्छन् । चिप्लिने, लड्ने र ज्यानै जाने जोखिम हुँदा लठ्ठी वा ‘ट्रेकिङ स्टिक’ ले सहयोग गर्न सक्छन् । यसैगरी बडीमालिका जाँदा सकेसम्म ‘ट्रेकिङ सुज’ नै लगाएर जानु सुरक्षित हुन्छ । 

धार्मिक आस्थाको धरोहर 

पौराणिक कथानुसार महादेवकी पत्नी सतीदेवीले पिता दक्ष प्रजापतिको अग्निकुण्डमा प्राण त्याग गरेपछि पत्नी वियोगले विक्षिप्त बनेका महादेवले सतीदेवीको मृत शरीर बोकेर विश्व भ्रमण गर्न थाले ।   स्कन्दपुराणको मानसखण्डमा वर्णन गरिएअनुसार महादेवले बोकेको सतीको शरीर नगलेपछि भगवान् विष्णुले झिँगाको उत्पत्ति गरी गल्ने बनाए । यसरी सतीदेवीका गलेका अङ्गहरू ठाउँ–ठाउँमा पतन हुँदै (झर्दै) खस्न थाले । जहाँ–जहाँ सतीका अङ्ग पतन भए त्यहाँ–त्यहाँ एक एकवटा शक्ति पीठ उत्पत्ति हुँदै गए । यसै क्रममा मल्लागिरि पर्वतमा सतीदेवीको बायाँ कुम पतन भयो । बायाँ कुम पतन भएको यो क्षेत्रमा शक्तिपीठ उत्पन्न भयो । यही मल्लागिरि शब्द अपभ्रंश हुँदै मल्लिका भनिन थालियो । यही मल्लिका अथवा मालिका देवी शक्ति स्वरूपले रहन थालिन् । कालान्तरमा यही ठाउँमा बडीमालिका मन्दिर स्थापना गरी पूजा गर्न थालियो ।

बडीमालिकासँग जोडिएका अन्य किंवदन्तीहरू पनि यस क्षेत्रमा प्रचलित छन् । अर्को किंवदन्तीअनुसार भगवतीले महिषासुरको बध गरेपछि कालीकोटको ‘द्वारेढुंगा’ भन्ने ठाउँमा विश्राम गरेकी थिइन् । पछि द्वारेढुंगामा दाउरा खोज्न गएकाएकजना भोकाएका दलितले देवीसँग बहरको मासु र गहुँको रोटी मागे । देवीले त्यो दलितको मनोरथ पूरा गरिदिइन् । उनले पूरै बहरलाई एक्लै खान नसकी घरका मानिसहरूलाई पनि बोलाएछन् । घर टाढा भएकाले उनका परिवारका सदस्यले बोलाएको सुन्न सकेनन् । 

घरका मान्छेले वास्ता नगरेको ठानी उनले रिसको आवेगमा भगवतीलाई भने–‘हे परमेश्वरी π मेरा घरका सबै मान्छे मरून् ।’ त्यसपछि देवीले तथास्तु भनी वरदान दिइन् ।पछि बहरको मासु लिएर घर जाँदा घरका सबै जहान मरेको देखेपछि देवीसँग रिसाएर उनीफेरि द्वारेढुंगा पुगे । देवी उनलाई देखेर ढोका बन्द गरी त्यहाँबाट भागिन् । देवीभागेको देखेर बहरको फिलाले देवीको घरमा हानेको र उक्त छाप अहिले पनि द्वारेढुंगामा देखिने कालीकोटका चम्पासिं ऐडीले बताए । त्यसपछि देवीले सधैका लागि त्यो ठाउँ छोडेर त्रिवेणी, पञ्चपुरी पाटन, मल्लपुरी पाटन हुँदै बडीमालिकामा गएर बसेको उनले बताए । अहिले बडीमालिका जाने भक्तजनहरू पनि देवी हिँडेको त्यहीबाटो भएर जाने गरेका छन् ।

बडीमालिकाका बारेमा अरु पनि थुप्रै किंवदन्ती यहाँ सुन्न पाइन्छ । किंवदन्तीमा जुनसुकै कुराको चर्चागरिए पनि देवीको दर्शन गर्दा मनोकामना पूरा हुने जनविश्वास छ । बडीमालिकाको पूजा–आराधना गर्दा सन्तान नभएकालाई सन्तान, धन नहुनेलाई धन एवं सुख–शान्ति प्राप्त हुनुका साथै सबै किसिमका रोग निको हुने विश्वास छ । 

 

आफूले पहिले आएर सन्तान मागेको र पछि सन्तान प्राप्त भएपछि धन्यवाद दिन यहाँ आएको कञ्चनपुरकी ६५ वर्षीया तारादेवी बोहराले बताइन् । ‘धेरै ठाउँमा औषधि गर्दा पनि सन्तान भएका थिएनन् । पहिलो पटक देवीको दर्शन गर्दा मलाई सन्तान प्राप्त भए’ उनले भनिन्, ‘देवीको कृपाले सबै राम्रो हुँदै गयो । अतः मर्नुभन्दा पहिले धन्यवाद दिन आएकी हुँ ।’ 

त्यहाँ अरु बेलामा भन्दा जनैपूर्णिमामा बढी भीड हुन्छ । यस वर्ष मेला भर्न नेपालका मात्र नभएर भारत कुमाउ, गडवाल र उत्तराखण्डबाट २५ हजारभन्दा बढी श्रद्धालु भक्तजन बडीमालिका पुगेको र गत वर्षको तुलनामा यो वर्ष लगभग दोब्बर भक्तजन आएको मन्दिरका पुजारी नेत्रराज उपाध्यायले बताए । बडीमालिकाको मेलामा आउनेहरूमध्ये आधाजसो विभिन्न वरदान माग्न र आधाजसो मनोकामना पूराभएपछि धन्यवाद दिनका लागि पुग्ने गरेको उनको भनाइ छ । यहाँ ६–७ वर्षका बालबालिकादेखि ८५ वर्षसम्मका ज्येष्ठ नागरिक पनि आउँछन् । 

बडीमालिकाको पूजाका लागि जुम्ला, कालीकोट, डोटी, अछाम र बाजुराबाट प्रमुख जिल्ला अधिकारीसहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र सरकारी कर्मचारीहरूको टोली पनि आउँछ । जुम्लाबाट डोलीसहितसरकारी टोली बडीमालिका पुग्छ भने डोटीको टोलीले पनि १४ दिन लगाएर यहाँ पुग्नुपर्ने चलन छ । डोटीको शैलेश्वरी मन्दिरबाट पेटारो (पूजा सामग्री) लिएर टोली सिलगढी बजारदेखि हिँडेर १४ दिनमा बडीमालिका पुग्छ । 

मेलामा कालीकोटको सरकारी टोली र जुम्ला चन्दननाथको टोली एकातिरबाट र अछाम, बाजुरा र डोटी जिल्लाको टोली अर्कोतिरबाट जाने चलन छ । डोटीबाट गएको टोली पहिलो दिन जिल्ला प्रशासन कार्यालयबाट शैलेश्वरी नाचन्थली हुँदै बडीमालिकाका लागि प्रस्थान गरीपूर्वीचौकी खिरसैनमा बास बस्छ । दोस्रो दिन पूर्वीचौकी गाउँपालिकाकै काडामाडौं मन्दिरमा पूजाआजा गर्ने, तेस्रो दिन अछाम बैधनाथ मन्दिरमा पूजाआजा गर्ने र बैधनाथ क्षेत्रमा फलेको धानको सिम्लासहितको कोसेली लग्ने, चौथोदिन अछामकै भरणी गाउँको मन्दिरमा पूजाआजा गर्ने, पाँचौं दिन अछाममै बिहान बिमकोटे राजालाई हँसाई ५२ रुपैयाँ नगद, नरिवल र जनै दिएर जाब्लामा बास बस्छ । 

यस्तै छैठौं दिन बाजुराको छतरामा बास बस्ने, सातौं दिनदेखि नवौं दिनसम्म छतरामै रहेर धामी बसाल्ने र सबैलाई पोकामा रहेको सामान दिई हँसाएर मात्रै जाने । साथमा दुई जना लिङ्गो बोक्ने मानिस लगेर जाने, दसौं दिन–खले टुप्पाबाट लिङ्गो काटी सोही ठाउँमा बास बस्ने, एघारौं दिन भित्तीछिर्ना भन्ने ठाउँमा बास बस्ने, बाह्रौं दिन त्रिवेणीमा बसी जुम्लाका मानिसहरूसँग सहमति गरी नरिवल, निगालोको लठ्ठी दिने र जुम्लाको टोलीले मिठाईं दिने चलन छ । तेह्रौं दिन बिहान बडीमालिकाको छत्रले संयुक्तरूपमा नुहाएर बडीमालिकातर्फ प्रस्थान गरी चौधौं दिन बडीमालिकामा पूजा गरी बाजुराको नाट्येश्वरी मन्दिरमा बोका र नरिवलको बली दिने गरिन्छ । 

 

 प्रत्येक बर्ष श्रावण महिनाको जनै पूर्णिमाका अवसरमा बडीमालिकामा लाग्ने मेलाका बेला डोटी र जुम्लाको सरकारी पुजा टाेली प्रस्थान गरेका  यस अघिका समाचार

डोटीबाट ‘पेटारो’ बोकेर बडीमालिका तीर्थयात्रामा निष्कियो सरकारी टोली

डोटी ( अतरीया अनलाइन) बडीमालिका तीर्थयात्रा शुक्रबारदेखि जिल्ला प्रशासन कार्यालय डोटीबाट सुरु भएको छ । यस तीर्थयात्रालाई सुदूरपश्चिम प्रदेशमै सबैभन्दा लामो अवधिको तीर्थयात्रा मानिन्छ । बाजुरा जिल्लामा अवस्थित बडीमालिका भगवतीको पूजा गर्नका लागि डोटीबाट हरेक वर्ष झै यसवर्ष पनि सरकारी टोलीलाई बिदाइ गरिएको छ ।

बाजुरा जिल्लामा रहेको बडीमालिकामा श्रावण शुक्ल पूर्णिमाका दिन सम्पन्न हुने विशेष मेलामा डोटीबाट पूजा सामग्रीका साथ ‘पेटारो’ पठाउने गरिन्छ । सरकारी कर्मचारीहरूको एक टोलीले उक्त पेटारो लैजाने गर्दछन । वर्षौदेखि सो चलन चलिआएको छ ।

नेपाल एकीकरण हनुपूर्व डोटेली राजाले सो क्षेत्रमा सरकारी पूजा पठाउने चलन रहेको भएपनि पछिल्ला समय नेपालमा राज्य सञ्चालन गर्ने शाह वंशीय राजा, राणाकालीन अवस्थाका बढा हाकिम तथा हालका सरकारहरूले समेत पूजा सामग्री पठाउने चलन रहेको छ ।

‘जिल्ला प्रशासन कार्यालय डोटीबाट निकालिएको मालिका रथयात्रालाई शैलेश्वरी मन्दिरमा तान्त्रिक विधिले पूजा गरी विशेष मन्त्रले बाधी पेटारोका साथ सरकारी टोलीलाई बिदाइ गरिन्छ’, शैलेश्वरी मन्दिरका पुजारी राजेश भट्टले भने, ‘ठाउँठाउँमा बास बसी १५ दिनपछि पेटारो बडीमालिका पुग्ने गर्दछ ।’

बडीमालिका पठाईयो सरकारी डोल

विमल बिष्ट, डोटी ।
डोटीको सिलगढी बाट बाजुरा जिल्लामा रहेको बडीमालिकाका लागि आईतबार एक सरकारी डोल गएको छ । जनै पुर्णिमाको दिन लाग्ने मेलाका लागि उक्त डोल डोटीको सिलगढी बाट गएको हो । राणा कालदेखी जिल्ला प्रशासन कार्यालय सिलगढीमा पुजा आजा गरी बिधिबत रुपमा सरकारी कर्मचारीहरुले डोल लैजाने चलन रहेको जिल्ला प्रशासन कार्यालय डोटीका खरिदार तेजबहादुर खड्काले जानकारी दिनु भयो ।


आईतबार सिलगढीमा रहेको रुद्रध्वज गणको सैनिक टोली तथा जिल्ला प्रहरी कार्यालय डोटीको टोलीले शैलेस्वरी मन्दिरमा सलामी दिएपछि सरकारी कर्मचारी सहितको सरकारी डोल बाजुरमा रहेको बडिमालिका मन्दिरका लागि प्रस्थान गरेको हो । डोल ७ दिनमा बडिमालिका पुग्ने छ । बडिमालिका मन्दिरका लागि अछाम,बाजुरा,बझाङ तथा डोटी बाट डोल लैजाने चलन रहेको छ ।

सांस्कृतिक समन्वयकाे प्रतिक बडीमालिका तिर्थयात्रा

 जुम्ला

मस्टाे परम्परामा पुजा लाग्ने चारवटा पुर्णिमा मध्ये साउन पुर्णिमा महत्त्वपूर्ण मानिन्छ। देउताका पालीहरू(भक्तजन) लामाे तिर्थयात्रामा निस्कने भएकाले ठूलो जमघट सहित ठाउँठाउँमा मेला लाग्ने गर्छ। जुम्लाबाट गरिने लामाे तिर्थायात्रामा छायाँनाथ, ऋणमाेक्ष, गरुडनहानी, माहाबु लगायत स्थानहरु पर्दछन्। जसमध्ये सबैभन्दा लामाे तिर्थयात्रा बडीमालिकामा हुन्छ। जुन सरकारी तवरबाटै हुँदै आएकाे छ। त्यसैले, मंगलबार सरकारी टाेली औपचारिक रुपमा बडा बसाली, हजारौं भक्तजनकाे उपस्थितिमा बाजागाजा सहि बाजुरा जिल्लामा पर्ने बडीमालिका प्रस्थान गरेको छ।

हरेक वर्ष सरकारी तवरबाटै समुद्री सतहबाट ४ हजार २१६ मिटर उचाइमा रहेका बडीमालिका जाने गरिएकाे छ। 

याे वर्ष जिल्ला प्रशासन कार्यालय जुम्लाका नायब सुब्बा एकराज गिरीको नेतृत्व तथा पुजारी विष्णुप्रसाद उपाध्याय सहित दर्जनौं भक्तजनको टोली बडीमालिका प्रस्थान गरेकाे हाे। हरेक वर्ष साउन शुक्लपुर्णिमा नाग पञ्चमीका दिन तत्कालीन जुम्ला राज्य र डोटी राज्यद्वारा संयुक्त रुपमा बडीमालिकामा पूजा गर्ने प्रचलन अनुसार जुम्लाबाट सरकारी टाेली उता जाने रित बसेकाे संस्कृति सम्बन्धका जानकार रमानन्द आचार्यले बताए।

'नेपाली सेनाको एक टुकुटीले बटुक भैरवनाथ, बाबा चन्दननाथ र दरबार मालिकाको सलामी अर्पण, पाँच वटा सलामी, ब्यान्डबाजा र बिगुल फुकेर पूजाको डाेली सहित बडिमालिका हिँडेको टोलीलाई भव्य बिदाइ गर्ने गरिएकाे छ,' उनले भने। बाइसी राज्य हुने बेलादेखि नै हरेक नाग पञ्चमीका दिन जुम्लाको सरकारी टोली पूजाका लागि बडीमालिका जाने चलन बसेकाे हाे।  डोटी र बाजुराबाट बडीमालिका आउने र जुम्लाबाट समेत त्यहाँ पुगेर संयुक्त पूजा गर्ने प्रचलन अनुसार नै सरकारी टाेलीलाई बिदाई गरि पठाइएकाे प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाईले बताइन्।  'बडीमालिका जाने टोली सुरक्षार्थ सीमावर्ती जिल्ला प्रशासन र प्रहरी कार्यालयसँग समन्वय भएको छ,' उनले भनिन्, 'गत वर्ष कोरोनाका कारण सीमित टोली बडीमालिका गएको थियो। यस वर्ष नागरिकको उत्साह बढेकाे छ।' 

बाडीमालिका गएकाे  टोली आगामी भदौ १ गते अर्थात् १६ दिनपछि जुम्ला फर्किनेछ।

संस्कृति सम्बन्धका जानकार आचार्यका अनुसार जिल्ला प्रशासन कार्यालयको तर्फबाट सुनको टीका, बिनायो, चाँदीको काँगियो, छत्र, मुरुली गरी ५ वटा पूजाका सामानहरु (पेटारो) नामक झोलीमा राखेर बडीमालिका मन्दिरमा पूजाका लागि पठाउने चलन छ। त्यसैगरी उताबाट पनि मन्दिरका लागि उपहार आउने गरेकाे छ।

सरकारी तवरबाटै बडीमालिका गएर दुईवटा राज्यले सांस्कृतिक समन्वय गरेर दुनियाँलाई देखाए अनुरुप नै याे लामाे तिर्थयात्राकाे संस्कृति विकास भएकाे जिल्ला समन्वय समितिका प्रमुख गाैरिन्द आचार्यले बताए। 'यस्ताे दुर्लभ संस्कृति संरक्षणमा राज्यले जोड दिनुपर्छ,' उनले भने, 'बडीमालिकामा वर्षमा एक पटक हुने पूजाले बाजुरा र जुम्लाको धार्मिक सहिष्णुताको विकाससँगै धार्मिक पर्यटनलाई समेत उजागर गरेको छ।' औपचारिक पूजाआजाको परम्परा अनुसार छिमेकी जिल्लाहरु अछाम, डोटी, जुम्ला र कालिकोट लगायत जिल्लाबाट सरकारी पूजा टोलीसहितका तीर्थयात्रा बडीमालिकामा हुने गरकाे छ।

पछिल्लो समय बडीमालिका विशिष्ट धार्मिक तथा पर्यटकीय महत्व बाेकेकाे स्थानकाे रुपमा परिचित हुँदै गएकाे छ। 

स्कन्दपुराणमा उल्लेख भएअनुसार मल्लागिरी पर्वतमा सतीदेवीको बायाँ अंग पतन भएको थियो। यसै स्थानमा मालिकादेवी उत्पन्न भएकाले बडीमालिका एक प्रमुख शक्तिपीठका रूपमा स्थापित भएको हो। 

मन्दिर क्षेत्रको प्राकृतिक सुन्दरताले बडीमालिकाको महत्व अझ बढाएको छ। त्यस क्षेत्रको अवलोकन गर्ने उद्देश्यले आन्तरिक तथा बाह्य पर्यटक यसैबेला बडीमालिका पुग्ने गर्छन्।  २२ पाटन, त्रिवेणी र खेतीबेती बडीमालिकाका मुख्य आकर्षण हुन्।  समथर हरिया फाँट र ती फाँटमा फुलेका दर्जनौं प्रजातिका फूलको रमणीयताले बडीमालिका प्रकृतिको अनुपम उपहार अनुभव हुने त्यहाँ पुगेकाहरू बताउँछन्।  बारम्बार बडीमालिका यात्रा गरिसकेका पुजारी विष्णुप्रसाद उपाध्याय भन्छन्, 'बडीमालिका प्रकृतिको दुर्लभ उपहार हो । त्यहाँ पुगेपछि जीवनका सारा कष्ट हराएको अनुभूति हुन्छ।'

प्रतिकृया दिनुहोस

बडीमालिकाबाट तीर्थालुहरु नाटेश्वरी मन्दिर पुगे, जनै पूर्णिमा र रक्षा बन्धनका अवसरमा बाजुराको नाटेश्वरी मन्दिरमा भदौ १४ विहानैदेखि पूजा गर्न सकिने

बडीमालिका मन्दिरबाट तीर्थालु नाटेश्वरी मा पुगे,    जनै पूर्णिमा र रक्षा बन्धनका अवसरमा बाजुराको नाटेश्वरी मन्दिरमा भदौ १४ विहानैदेखि पूजा गर्न

बिशेष पूजा सहित यस वर्षको बडीमालिका मेला सम्पन्न : तिर्थालुहरु बडीमालिकाबाट नाटेश्वरी मन्दिर क्षेत्र पुगे , नाटेश्वरी क्षेत्रमा तीर्थालुहरु खचाखच भरिए

ॐ भूभुर्वः स्वः मालिका देव्यै विद्महे सर्वशक्त्यै च धीमहि तन्नो मालिकाः प्रचोदयात् । दिव्य तिर्थ बडीमालिका: नेपालको धार्मिक, जैविक  र पर्यटकीय

राष्ट्रपति भण्डारीद्वारा त्रिवेणी नगरपालिका बाजुरा स्थित माता बडीमालिका लगायत खप्तडमा पुजा, बाजुरा लगायतका क्षेत्रमा खुसीयाली

बाजुरा १८,जेठ-  राष्ट्रपति विद्यादेवी भण्डारीले  त्रिवेणी नगरपालिका बाजुरामा अवस्थित   माता बडीमालिकाकाे  बुधबार बिहान पूजा आराधना गर्नुभएको छ ।