राजनेता सुवासचन्द्र नेम्वाङको पशुपति आर्यघाटमा अन्त्येष्टि: दुई छोराले दिए दागबत्ती

सुवास नेम्वाङ सफल राजनेता हुनुहुन्थ्योः अध्यक्ष ओली

काठमाडौं, भदौ २८- राजनेता सुवासचन्द्र नेम्वाङको बिहीबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। 

नेकपा (एमाले) का उपाध्यक्ष तथा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको पशुपति आर्यघाटमा  राजकीय सम्मानसाथ गरिएको अन्त्येष्टिमा उहाँका दुई छोरा मिङसो नेम्वाङ र सुहाङ नेम्वाङले दागबत्ती दिएका छन् ।

https://gorkhapatraonline.com/storage/editor/photos/shares_2023/Politician/14_1.jpg

नेपाली सेनाको एक टुकडीले शोक कुनसहित स्वर्गीय नेम्वाङप्रति शोक धुन बजाएर सम्मान व्यक्त गर्नुभयो । 

अन्त्येष्टि कार्यक्रममा अन्तिम श्रद्धाञ्जली व्यक्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनसहित दलका नेताहरू, एमालेका नेताहरू आर्यघाट पुग्नुभएको छ । पूर्व सभामुखसमेत रहनुभएका नेता नेम्वाङको भदौ २६ गते मंगलबार बिहान १:५० बजे निधन भएको थियो । 

नेता नेम्वाङको पार्थिव शरीरमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्नुभयो भने एमाले अध्यक्ष ओलीले पार्टीको झण्डा ओढाउनुभयो । सो अवसरमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासहित सरकारका मन्त्रीहरू, सांसदहरू, पार्टीका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य सहभागिता थियो । 

ऐतिहासिक संविधान सभाका अध्यक्ष नेम्वाङले नेपालको संविधान निर्माणका क्रममा दुई कार्यकाल संविधानसभाको अध्यक्षको जिम्मेवारी निर्वाह गर्नुभयो। वि.सं. २०६४ र २०७० मा उहाँले सो जिम्मेवारी निर्वाह गर्नुभएको हो। उहाँ अध्यक्ष रहँदा २०७२ असोज ३ गते नेपालको संविधान २०७२ जारी भएको थियो। 

वि.सं. २०६५ जेठ १५ गते नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र मुलुक घोषणा भएसँगै दुई सय ४० वर्षे राजसंस्थाको विधिवत अन्त्य भयो। पहिलो संविधान सभाबाट संविधान जारी हुन नसकेपछि २०६९ जेठ १४ मा संविधानसभा विघटन भयो।  

दोस्रो संविधान सभाबाट वि.सं. २०७२ असोज ३ गते गणतान्त्रिक नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवको हस्ताक्षरमा नेपालको संविधान जारी भयो। त्योबेला संविधान सभाका अध्यक्ष नेम्वाङले अग्रणी एवम् समन्वयकारी भूमिका निर्वाह गर्नुभयो।

https://gorkhapatraonline.com/storage/editor/photos/shares_2023/tmp/19_1.jpg

वि.सं. २००९ फागुन २८ गते इलामको सुन्तलाबारीमा बुवा रामबहादुर नेम्वाङ र आमा अपिन्द्रकुमारी नेम्वाङको कोखबाट नेता नेम्वाङको जन्म भएको थियो। आदर्श स्कुल, इलाम पढ्दादेखि नै वामपन्थी आन्दोलनको प्रभावमा रहनुभएका उहाँले त्रिचन्द्र कलेजबाट आइएसी तहको अध्ययन सम्पन्न गर्नुभयो।

विद्यार्थी कालदेखि राजनीतिमा जोडिनुभएको उहाँ २०२९ सालमा महेन्द्ररत्न बहुमुखी क्याम्पस, इलाममा स्वतन्त्र विद्यार्थी युनियनको सभापति हुनुभयो। त्रिभुवन विश्वविद्यालयबाट उहाँले कानुनमा स्नातक शिक्षा हासिल गर्नुभयो। 

नेपाल ल क्याम्पस, काठमाडौंमा विद्यार्थी जीवनकालमा राजकाज मुद्दामा जेल पर्नुभयो। त्यो बेला जेलमै रहँदा २०३३ साल असार ३ गते अखिल नेपाल कम्युनिष्ट क्रान्तिकारी को–अर्डिनेसन केन्द्रको पार्टी सदस्यता लिनुभयो। २०४६ को संयुक्त जनआन्दोलन,२०६२–६३ को शान्तिपूर्ण जनआन्दोलनताका पटक–पटक हिरासतमा पर्नुभयो।

२०४९ मा पार्टीको पाँचौ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय न्यायिक समितिको सदस्यमा निर्वाचित हुनुभयो। २०५४ र २०५९ मा सम्पन्न छैटौं र सातौं महाधिवेशनमा केन्द्रीय सदस्य, २०७२ मा एमाले स्थायी कमिटी सदस्य र २०७८ मा चितवनमा सम्पन्न दशौं राष्ट्रिय महाधिवेशनबाट एमाले उपाध्यक्षमा निर्वाचित हुनुभयो।

२०३६ सालमा नेपाल ल क्याम्पसमा प्राध्यापन सुरु गर्नुभयो। २०४१ मा नेपाल बार एशोसियसनको केन्द्रीय सदस्य र २०४३ मा महासचिवको रुपमा कानुनी क्षेत्रमा वकालत गर्नुभयो। 

https://gorkhapatraonline.com/storage/editor/photos/shares_2023/tmp/2_52.jpg

नेकपा (एमाले) का तर्फबाट २०४८ र २०५२ मा दुई पटक राष्ट्रिय सभाको अध्यक्षको जिम्मवारी सम्हाल्नुभयो। पुनःस्थापित प्रतिनिधिसभा २०६३ र अन्तरिम संविधान जारी भएपछि गठित व्यवस्थापिका संसद, संविधान सभाको निर्वाचनपछिको व्यवस्थापिका संसद २०६५ तथा २०७० गरेर चार पटक सभामुखको जिम्मेवारी सम्हाल्नुभयो। 

२०५१ सालमा मनमोहन अधिकारी नेतृत्वको पहिलो कम्युनिष्ट सरकारको पालामा उहाँ कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री हुनुभयो। उहाँ लोकप्रिय नेताको रुपमा २०५६ देखि २०६४, २०७०, २०७४ र पछिल्लो २०७९ मंसिरको संसदीय निर्वाचनमा निरन्तर निर्वाचन क्षेत्र २ इलामबाट निरन्तर विजयी हुनुभयो। 

२०५६ मा पहिलो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुँदा संसदको सार्वजनिक लेखा समितिको सभापतिको रुपमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो। पछिल्लो समय नेकपा (एमाले) संसदीय दलका उपनेता समेत रहनुभएका नेम्वाङ २०७९ फागुन २५ गते भएको निर्वाचनमा राष्ट्रपति पदमा उम्मेदवार बन्नुभएको थियो। तर, उहाँलाई  गणीतीय सफलता प्राप्त हुन सकेन।  

https://gorkhapatraonline.com/storage/editor/photos/shares_2023/tmp/13_3.jpg

मृदुभाषी र सरल नेताको रुपमा सार्वजनिक छवि बनाउनुभएका नेता नेम्वाङ नेपाली राजनीतिमा अप्ठ्यारो समयमा पनि राजनीतिक दल र विभिन्न पक्षसँग समन्वयका लागि विशिष्ट क्षमता राख्नुहुन्थ्यो। राजनीति र कानुनको पक्षमा शालीनतापूर्वक क्रियाशील नेम्वाङको भदौ २६ गते मंगलबार बिहान हृदयघात भएपछि १ः५० बजे महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भयो।  दिवंगत हुनुभएका नेता नेम्वाङका श्रीमती, दुई छोरा मिङसो नेम्वाङ र सुहाङ नेम्वाङ र दुई छोरी डा. सुसाङ्नुमा र सम्याङ (सारा) नेम्वाङ हुनुहुन्छ। जेठा छोरा परिवारसहित बेलायतमा बस्दै आउनु भए पनि एक छोरा र दुई छोरी स्वदेशमा बस्दै आउनुभएको छ। जनप्रतिनिधिबाट जनताका लागि संविधान निर्माणमा उहाँले पुर्‍याउनुभएको ऐतिहासिक योगदानको नेपाल र नेपाली जनताका लागि सदैव स्मरणीय रहनेछ।   

सुवास नेम्वाङ सफल राजनेता हुनुहुन्थ्योः अध्यक्ष ओली

 नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधान सभाका दिवंगत अध्यक्ष तथा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ सफल राजनेता भएको बताउनुभएको छ। 

बिहीवार नेकपा (एमाले) को संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उहाँले नेम्वाङ सफल राजनेताको रुपमा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त भएको बताउनुभएको हो । उहाँले नेपालको इतिहासमा नेम्वाङको तुलना अन्य कुनै सभामुखसँग पनि नहुने बताउनुभयो । उहाँले नेम्वाङले दलीय स्वार्थभन्दा माथि उठेर संसद चलाएको र संसदको गरिमा बढाएको बताउनुभयो । अध्यक्ष ओलीले नेम्वाङ संविधान र कानुन उल्लंघन गर्नु नहुने मान्यतामा रहेको बताउनुभयो । 

blog

उहाँले भन्नुभयो, ‘‘अहिलेसम्मको इतिहासमा हेर्ने हो भने उहाँसँग कसैको तुलना हुँदैन । उहाँ चुनिएपछि वास्तवमै दलीय स्वार्थभन्दा माथि उठेर, वास्तवमै संसदीय गरिमा बढाउन, संवैधानिक इमान्दारिता र कानुनको हिसाबले चल्नुपर्छ । आफूले आफैलाई पनि कानुनमा बाँध्नुपर्छ । कानूनको उल्लंघन गर्नु हुँदैन भन्ने उहाँको मान्यता थियो । र उहाँ एउटा सफल राजनेताको रुपमा राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरमा समेत ख्यातिप्राप्त हुनुहुन्थ्यो ।’ 

अध्यक्ष ओलीले नेम्वाङ सामुदायिक विद्वेषको विरुद्धमा रहेको बताउनुभयो । उहाँले नेपालको विविधतायुक्त नेपाली समाजलाई राम्रोसँग चिनेको ओलीको भनाइ छ । नेम्वाङ सामाजिक सद्भाव, सामाजिक न्याय र सामाजिक सद्भावका साथ राष्ट्रिय एकताको पक्षमा रहनुभएको उहाँले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘‘उहाँ सामुदायिक विद्वेषजस्ता कुराहरुका विरुद्धमा नेपाल चिन्नुभएको थियो । नेपाली जनता चिन्नुभएको थियो र उहाँ विविधतायुक्त नेपाली समाज, विविधतालाई गलत ढंगले प्रयोग नगर्ने उहाँ सधैभरी सामाजिक सद्भावको पक्षमा, सामाजिक न्याय र सामाजिक न्यायमा आधारित सद्भाव र त्यसमा आधारित राष्ट्रिय एकताको पक्षमा हुनुहुन्थ्यो ।" नेम्वाङ सधैँभर न्यायको पक्षमा उभिएको अध्यक्ष ओलीले स्मरण गर्नुभयो ।(गोरखपत्रबाट)

शोक प्रस्ताव पारित

प्रतिनिधि सभाको आजको बैठकले संविधान सभाका अध्यक्ष, पूर्व सभामुख, वर्तमान प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । बैठकमा सभामुख देवराज घिमिरेले प्रस्तुत गर्नुभएको शोक प्रस्तावलाई बैठकको सर्वसम्मतले पारित गरेको हो ।

बैठकले स्व नेम्वाङको निधनप्रति शोक व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गर्नुका साथै परिवार जनमा गहिरो समवेदना प्रकट गरेको छ । आजको बैठकमा स्व नेम्वाङको चिरशान्तिको कामना गर्दै एक मिनेट मौनधारणसमेत गरिएको थियो ।

वि.सं २००९ फागुन २८ गते जन्मनुभएका नेम्वाङको ७१ वर्षको उमेरमा मङ्गलबार निधन भएको थियो । नेम्वाङ नेकपा (एमाले) पार्टीको तर्फबाट २०४८ साल र २०५२ सालमा राष्ट्रिय सभा सदस्य, २०५६ सालमा प्रतिनिधि सभा सदस्य, २०६३ सालमा पुनः स्थापित प्रतिनिधि सभा सदस्य र व्यवस्थापिका संसद् सदस्य, २०७२ मा रूपान्तरित व्यवस्थापिका संसद् सदस्य, २०७४ र २०७९ मा प्रतिनिधि सभा सदस्य हुनुहुन्थ्यो । उहाँ २०६३ सालमा पुनः स्थापित प्रतिनिधिसभाको सभामुख, २०६३ सालमै व्यवस्थापिका संसद्को सभामुख  तथा २०६५ साल र २०७० सालको संविधान सभाको अध्यक्ष हुनुहुन्थ्यो ।

यसैगरी, २०५६ सालमा प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखासमिति सभापति हुनुभएका स्वर्गीय नेम्वाङ कानुन, न्याय तथा संसदीय व्यवस्था र सामान्य प्रशासन मन्त्रीसमेत हुनुभएको थियो । संविधान सभामार्फत नेपालको संविधान निर्माणमा उहाँको अग्रणी भूमिका रहेको थियो । प्रतिनिधि सभाको अर्को बैठक यही भदौ २९ गते दिउँसो १ बजे बस्नेछ । रासस

 

प्रतिकृया दिनुहोस

नेपाल र चीनबीच १३ वटा समझदारी पत्रमा हस्ताक्षर

काठमाडौ, असोज ८ - नेपाल र चीनबीच १३ वटा समझदारी पत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड र उहाँका चिनियाँ समकक्षी लि

प्रधानमन्त्री प्रचण्ड र चीनका राष्ट्रपति सीबीच ऐतिहासिक भेटवार्ता: द्विपक्षीय हितका विविध विषयमा खुला र स्पष्ट रुपमा छलफल

  काठमाडौ, असोज ६ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनका राष्ट्रपति सी चीन फिङबीच ऐतिहासिक भेटवार्ता सम्पन्न भएको छ।  चीनको

पूर्वसभामुख सुवास नेम्वाङको निधन: प्रधानमन्त्रीसहित शीर्ष नेताद्वारा नेम्वाङप्रति श्रद्धाञ्जली व्यक्त (फोटो फिचर)

प्रधानमन्त्रीसहित शीर्ष नेताद्वारा नेम्वाङप्रति श्रद्धाञ्जली (फोटो फिचर) ललितपुर, भदौ २६ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’