आज घटस्थापना, दसैँ सुरु, घटस्थापनाको साइत ९:१६बजे
नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ ।
आज घटस्थापना, दसैँ सुरु
घटस्थापनाको साइत ९:१६बजे
काठमाडौँ ,असोज,१७,२०८१ प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यस वर्षको बडादसैँ आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामसँग मनाउने गरिन्छ बडादसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजाकोठा वा दसैँघरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ रोप्ने गरिन्छ । यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ । यव अङ्कुर दुर्गादेवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसँगै समृद्धिको प्रतीक पहेँलो जमरा पनि ग्रहण गरिन्छ । जमरामा जौबाहेक अरू अन्न रोप्ने शास्त्रीय विधि नभएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्राध्यापक रामचन्द्र गौतम बताउँछन् । कूल परम्पराअनुसार कसैले अन्य अन्न पनि जौसित रोप्ने गरेका छन् । जमरालाई आयुर्वेदिक औषधिका रूपमा समेत प्रयोग गरिन्छ ।
घटस्थापनाको साइत ९:१६ बजे
आजैको दिन विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजाआराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना पनि भन्ने गरिएको हो । आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजयादशमीका दिन दुर्गादेवीको प्रसाद ग्रहण गर्ने गरिन्छ ।
आज घटस्थापनाको साइत बिहान ९:१६ बजे रहेको समितिले जनाएको छ । सूर्योदयकालमा प्रतिपदा भएका दिनमा घटस्थापना गर्नुपर्छ भन्ने शास्त्रीय मान्यतानुसार नै समितिले आजको दिनलाई घटस्थापना भनी निर्णय गरेको समितिका अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारीले जानकारी दिए । दुर्गादेवीका तीनवटा रूप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक पूजाआराधना गरिन्छ । महाकाली शक्तिको प्रतीक, महालक्ष्मी धनधान्य र ऐश्वर्यको प्रतीक तथा महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकको रूपमा पूजाआराधना गर्ने वैदिककालदेखिको परम्परा छ । दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकका रूपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तबीजलगायतका राक्षसलाई वध गर्न लिएका नौवटा रूपको दुर्गा पक्षका अवसरमा विशेष पूजाआजा र आराधना गर्ने गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्मको १५ दिनलाई दुर्गापक्ष पनि भनिन्छ ।
नौ दिन नौ दुर्गाको पूजा
यस क्रममा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्री देवीको पूजाआराधना गर्ने गरिन्छ । यिनै नौवटा दुर्गाका रूपलाई नवदुर्गा पनि भन्ने गरिएको छ ।
आसुरी एवं राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाएकाले समस्त मानव जातिले नै दुर्गादेवीको पूजाआराधना गर्ने शास्त्रीय नियम छ । दुर्गा पूजा र दसैँ पर्व कुनै जात एवं धर्म विशेषको नभएको शास्त्रीय प्रमाण रहेको धर्मशास्त्रविद् गौतम बताउनुहुन्छ । दसैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाउने गरिन्छ । दुर्गाको प्रतीकका रूपमा आजको दिनदेखि महानवमीसम्म प्रत्येक दिन छुट्टाछुट्टै गरी नौवटी कन्याको पूजासमेत गर्ने गरिन्छ । यसरी पूजा गरिने कन्या दुई वर्षमाथिका हुनुपर्ने शास्त्रीय विधान छ । बडादसैँको सातौँ दिन धार्मिक विधिअनुसार फूलपाती भित्र्याइन्छ । महाअष्टमी र महानवमीका दिन बलि पूजा गर्नेहरूले दसैँघर, कोत र शक्तिपीठमा बलिसहित विशष पूर्जा गर्छन् ।
नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवी भागवत र अन्य देवी स्तोत्र एवं स्तुतिहरूको पाठ पारायण पनि गर्ने गरिन्छ । यस अवसरमा गुह्येश्वरी, मैतीदेवी, नक्साल भगवती, शोभा भगवती, नाला भगवती र पलाञ्चोक भगवतीलगायत देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीडसमेत लाग्ने गर्छ ।
दुर्गामन्त्र
सर्वमङ्गलमाङ्गल्ये शिवे सर्वार्थसाधिके ।
शरण्ये त्र्यम्बके गौरि नारायणि नमोऽस्तु ते ॥
सबैभन्दा शुभ र सम्पूर्ण संसारलाई शुभ प्रदान गर्ने पवित्र र स्वच्छ दुर्गा माता हुनुहुन्छ। वहाँले आत्मसमर्पण गर्नेहरूको रक्षा गर्नुहुन्छ र वहाँलाई तीन लोककी माता पनि भनिन्छ । पर्वत राजाकी छोरी गौरी हाम्री माता दुर्गालाई बारम्बार नमन गर्छौं। हामी उनको पूजा गर्छौं।
आज घटस्थापना अर्थात् नवरात्रिको प्रथम दिन को हार्दिक मङ्गलमय शुभकामना । चाहे गाउँमा बस्नुहुन्छ या सहरमा, चाहे स्वदेशमा हुनुहुन्छ या विदेशमा, चाहे परिवारसँग हुनुहुन्छ या परिवारविना । यो वर्षको दसैँको रौनकले तपाईँलाई छुने वाला छ । छुने मात्र होइन आजदेखि आधिकारिक रूपमा छोई नै सक्यो ।
ल है !आज
जमरा छर्ने दिन अर्थात् घटस्थापना ।
जमरा अर्थात् जौ को जीवन ।
जसलाई थोरै बालुवा मिसिएको माटोमा छरिन्छ । अनि नवरात्रिभरि नै हरेक दिन पूजा–अर्चना गरिन्छ । जमरा वास्तवमा जौको अङ्कुरण भए तापनि दसैँको जमरामा जौ लगायत धान, मकै र गहुँका पहेँला, हरिया अङ्कुरित बालाहरू समावेश हुन्छ ।
माटो, पानी, हावा, फूल, आँकुरासँगै जुटेको यो संस्कारले वनस्पतिसँग हामी अत्यन्तै नजिक छौँ भन्ने स्पष्ट पार्छ । हिन्दुहरूको महान् पर्व दसैँमा जमरा संस्कृति एउटा मौलिक धरोहरको रूपमा रहिआएको छ भने यस दशमीको दिन लाइने जमरा उमार्न आजको दिन अर्थात् घटस्थापना महत्त्वपूर्ण दिन हो ।
नवरात्रिको सुरुवात
नवरात्रिको सुरुवात आजबाट भयो । अब हरेक बिहान देशका सम्पूर्ण नवदुर्गा भगवतीका शक्ति पीठहरूमा श्रद्धालुहरूको भीड हुन्छ । बिहान बिहान जमराको पूजा–पाठ गर्ने गर्नुपर्छ । अनि दशमीका दिन चामल, रातो अबिर, दही, केरा मिश्रित अक्षता टीकाले निधार भरेर जमरा ग्रहण गरी आफ्ना मान्यजनहरूबाट प्राप्त आशिष सँगै जीवनमा खुसीयाली प्राप्त गरिन्छ ।
जमराको मात्रा अर्थात् कति जमरा छर्ने भन्ने कुरा चाहिँ परिवारको सङ्ख्या अनुसार निर्धारण गरिन्छ । संयुक्त परिवारहरूले निकै ठुलो ठाउँमा जमरा छर्ने गर्छन् भने परिवारका सदस्य सङ्ख्या कम भएको परिवारहरूले सानो ठाउँमा जमरा छर्ने कार्य गर्छन् । यसरी छरिने जमरालाई माटोको चतुर्भुज आकारको बिच भागमा भने माटो या तामाको कलश स्थापना गरेर राखिन्छ । दशमीका दिन भने आवश्यकता अनुसार जमरालाई उखेलेर टिका लगाउन चाहिए जति झिक्ने गरिन्छ । यही जमरा, टिका अनि सद्भावले दसैँको रौनकता बढाउँछ । प्रत्येक मुहारमा दसैँको आकर्षणको वास्तविक चित्र कोर्ने गर्दछ ।
दसैँको जमरा राख्ने चलन भने ठाउँ अनुसारको फरक–फरक हुन्छ । कतै सामूहिक रूपमा दसैँ–घर स्थापना गरेर, गुठीमा या शक्ति पीठ अनि मठ–मन्दिरमा जमरा राखिन्छ अथवा व्यक्तिगत रूपमा आफ्नै घरको पूजा कक्षमा या घरको अन्य कुनै सफा ठाउँमा जमरा राख्ने गरिन्छ । जमरा राख्दा त्यस्तो कोठा छनौट गरिन्छ जसमा प्रकाश राम्ररी छिर्न नपाओस् । यसरी प्रकाश नपरेका जमराका बालाहरू पहेँला हुन्छन् । घटस्थापनाबाट प्रारम्भ हुने दसैँको नवरात्रि भनेको जमराको नौ दिने जीवन र दैनिक अङ्कुरणको प्रक्रिया पनि हो । जौको दानाभित्र रहेको जीवन शक्तिलाई जमराले उजागर गर्दछ र माटोले पोषण गर्दछ ।
१६ औँ शताब्दीका राजा महेन्द्र मल्लले निर्माण गरेको वसन्तपुर दरबार क्षेत्रमा अवस्थित तलेजु भवानीको मन्दिरमा रहेको दसैँ घरमा गोर्खाबाट ल्याइएको फूलपातीहरू फूलपातीकै दिन भित्राइन्छ । यसरी भित्र्याइँदै आएको फूलपातीको जमरा पनि आजैका दिन विधिपूर्वक गोर्खामा छरिने चलन रहिआएको छ । उहिले आजभोलि जस्तो यातायातको सहज सुविधा थिएन । त्यति बेला भने गोर्खाबाट आबुखैरेनीसम्म हरेक एक एक किलोमिटरमा सरकारी कर्मचारीहरू उभ्याउन लगाई एउटा कर्मचारीले अर्कोलाई हस्तान्तरण गर्ने र अर्को सोही अनुरूप अर्को एक किलोमिटरको दूरीमा भएकालाई हस्तान्तरण गरेर रीतपूर्वक फूलपातीलाई रिले दौड जस्तै गरी मानव साङ्लो निर्माण गरेर आबुखैरैनीसम्म फूलपातीलाई ल्याइन्थ्यो ।
आबुखैरेनीदेखि भने गाडीमा राखेर काठमाडौँसम्म ल्याइन्थ्यो । यसरी ल्याइएको जमरालाई काठमाडौँको जमलसम्म गाडीमा ल्याएर त्यसपछि तलेजु भवानीको मन्दिरमा अवस्थित दसैँ घरसम्म पारम्परिक बाजागाजासहित भित्र्याउने गरिन्थ्यो । गोर्खाबाट ल्याइएको फूलपाती कुनै पनि अवस्थामा चौबीस घण्टा नबित्दै काठमाडाैं ल्याइ पुर्याउनु पर्ने मान्यता समेत रहेको छ ।
मेचीदेखि महाकालीसम्मका सम्पूर्ण शक्ति पीठहरू र काली माताको मन्दिरमा प्रातः कालदेखि नै मेला लाग्ने गर्छ ।सभ्यताका प्रक्रिया अनि इतिहास हेर्दा मानवले जङ्गली युगको समाप्तिसँगै व्यवस्थित रूपमा कृषि गर्न थालेको पहिलो अन्न नै जौ हो । ठूूल्ठूला नदीको किनारामा भएको यो मानव सभ्यता प्रक्रियाको उत्खनन र अन्वेषण गर्दा मिश्र देशहरू अनि चीनमा पनि हजारौँ वर्ष पुराना जौको अवशेष भेटिएका छन् । संसारभरि नै जौलाई धेरै पुरानो अन्नका रूपमा विशेष महत्त्वका रूपमा हेरिन्छ ।
हाम्रा सनातन संस्कारहरू जौ, तुलसी, कुश र तिलविना संकल्पित र पूर्ण हुन सक्दैनन् । नेवारी भाषामा भने जौलाई तः छो भनिन्छ भने अङ्ग्रेजीमा बार्ली भनिन्छ । जौको पौष्टिकता निर्विकल्प छ । टिभी रेडियोमा आउने विज्ञापनहरूमा धेरै पौष्टिक भनिएका आयातित महँगा खाने कुराहरूमा पनि जौको मात्रा देखाएर नै प्रचार प्रसार हुने गर्छ । यसमा ‘ऐण्टिअक्सिडेन्ट’ र ‘विटाक्यारोटिन’ लगायतका तत्त्वहरू पाइन्छ ।
नवरात्रि सुरु
शक्ति पीठहरूमा प्रातकालदेखि नै श्रद्धालु भक्तजनहरूको घुइँचो र मेला लाग्ने गर्छ । दसैँको तैयारी र किनमेल, लगाउने नयाँ लुगा अनि खसी–बोकाको तैयारी अनि खोजी सुरु भइसकेको होला । कपडा सिलाउने ठाउँमा नयाँ कपडा सिलाउने अनि कपडाको नाप लिने भ्याई नभ्याई होला । अबका बजारमा खसी–बोकाको माग अनि किनबेच बढ्दो क्रममा हुनेछ । भोलि अर्थात् घटस्थापनामा जमरा राख्ने ठाउँ र नवरात्रिभरि पूजा गरिने पूजा स्थलको सरसफाइ पनि गरिने बेला आएको छ ।
दसैँको तैयारीको सुरुवातका क्रममा अब घर वरिपरि सरसफाइ गर्ने, घर बाहिर भएका परिवारका सदस्य अनि पढ्न बाहिर बसेका विद्यार्थीहरू उत्साहका साथ घर फर्किने तैयारी अनि गाडी या प्लेनको टिकटको खोजी कार्य पनि सुरु भइसकेको छ । यो उल्लासको समय हो । आशाको सञ्चार भएको समय हो । परिवारहरू भेला हुने समय हो । सँगै माया र सद्भाव बढोस् ।
घटस्थापना आज , यसरी गर्नुस् पूजा (मन्त्रसहित)
आजबाट नेपालीहरुको महान चाड बडा दशैं सुरु भएको छ । दशैंको पहिलो दिन आज घरघरमा घटस्थापना गरी मनाइदैछ छ । पौराणिक मान्यता अनुसार दूर्गा भवानीको कृपा तथा आशिर्वाद प्राप्त गर्न आजबाट घरघरमा ९ दिनसम्म दुर्गा भवानीको आराधना गर्ने परम्परा रहेको छ । नवरात्रको पहिलो दिन आज घटस्थापना गरी शैलपुत्री देवीको पूजा आराधना गरिन्छ । दशैं घर वा पूजा कोठामा मकै, गहुँ, जौं आदि अन्नको बीज छरेर घटस्थापना गरिन्छ । यसलाई सप्तधान्य पनि भनिन्छ । शैलपुत्रीको पूजा आराधना गरेमा लामो आयु हुने, दीर्घ रोगबाट बच्न सकिने र आरोग्य प्राप्त हुने धर्म शास्त्रमा उल्लेख छ ।
आज शास्त्रीय विधि अनुसार आज शुद्ध माटो तथा गोबरले घर शुद्ध बनाएर शुभ मुहूर्तमा घडा स्थापना गरी घडाको नजिक सप्तधान्य (जमरा) बीजारोपण गरी नौ दिनसम्म विभिन्न नामले शक्तिको पूजा आराधना गरिन्छ । त्यस पश्चात् प्रसाद स्वरूप दशमीको दिन लगाउने टीकाबाट धर्म, अर्थ, काम र मोक्ष प्रदायक हुने कुरा देवी भागवतमा बताइएको छ ।
घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो । पूजाका क्रममा यी मन्त्रहरू उच्चारण गर्ने परम्परा रहेको छ ।
ॐ अपवित्रः पवित्रो वा सर्वावस्थां गतोकपि वा
यः स्मरेत् पुंडरीकाक्षं सः बाह्याभ्यंतरः शुचि ।।
ॐ पुनातु पुण्डरीकाक्षः पुनातु पुण्डरीकाक्ष पुनातु ।।
नमो दैव्यै महादेव्यै शिवायै सततं नमः ।
नमः प्रकृतयै भद्रायै नियताः प्रणताः स्मताम ।।
या देवी सर्व भूतेषु मातृरूपेण संस्थिता ।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः ।।
ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे ।।
नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ । दसैं पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयका रुपमा लिइन्छ ।
नेपाली सेनालाई स्वर्ण पदक
नेपाली सेनालाई स्वर्ण पदक काठमाडौँ, असोज २७ गते । विश्वका ३७ देशका सेनालाई पछि पार्दै यस वर्षको ‘अभ्यास क्याम्ब्रियन गस्ती २०२४’मा नेपाली
प्रधानन्यायाधीशमा प्रस्तावित प्रकाशमानसिंह राउत संसदीय सुनुवाइबाट अनुमोदित
प्रधानन्यायाधीशमा प्रस्तावित प्रकाशमानसिंह राउत संसदीय सुनुवाइबाट अनुमोदित काठमाडौँ,आश्विन १७,२०८१-सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा
कांग्रेस सभापति देउवाद्वारा ३७ विभाग प्रमुख मनोनीत
काठमाडौँ, साउन २१ गते नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका ३७ वटा विभागको प्रमुख तोक्नुभएको छ । सोमबार सभापति देउवाले कांग्रेसको
प्रतिकृया दिनुहोस