यान्त्रिक परीक्षण उडान आजदेखि:गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुने हवाई उडानबारे आइएफआर प्रोसिड्युरमा भारतको असन्तुष्टि कायमै
बुद्ध पूर्णिमादेखि व्यावसायिक उडान हुने
काठमाडौँ- भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आज शुक्रबारदेखि यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) हुने भएको छ । यान्त्रिक परीक्षण उडानका लागि एरो थाईको विमान बिहीबार साँझ भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमाआइपुगेको छ । थाइल्यान्डबाट काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार बिहान आइपुगेको विमान बेलुकी ५ बजे गौतम बुद्ध विमानस्थलमा अवतरण भएको थियाे । परीक्षणका लागि चालक, सहचालक, प्राविधिकसहित सात जनाको टोली आएको विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले जानकारी दिनुभयो । कुनै पनि नयाँ विमानस्थल सञ्चालनमा आउनुपूर्व विमानस्थलमा जडान गरिएका हवाई उपकरणहरू परीक्षणका लागि गरिने उडान नै क्यालिबे्रसन उडान हो । क्यालिबे्रसन उडानपछि जडित उपकरणहरूले सही तरिकाबाट काम गरे या नगरेको तथा कुनै कमजोरी भए त्यो पत्ता लगाउन सकिने प्राधिकरणका सीएनएस विज्ञ मुकुल मिश्रले जानकारी दिनुभयो ।
उहाँका अनुसार क्यालिबे्रसन उडानका क्रममा खासगरी एयर ट्राफिक नियन्त्रक (एटीसी)सँगको सम्पर्क, सबैसँगको सञ्चार सम्पर्क, उपकरणमार्फत हुने अवतरण प्रणाली (आईएलएस), मौसमसम्बन्धी जानकारीलगायतका परीक्षण हुनेछन् । क्यालिबे्रसनका लागि आएको एरो थाईको उक्त जहाज फागुन १६ गतेसम्म नेपालमा रहनेछ । जहाजले यहाँ रहँदा एक हप्तासम्म क्यालिबे्रसन उडान गर्नेछ । उक्त उडान दैनिक छ घन्टासम्म हुनेछ । बिहान १० बजेदेखि हुने उक्त उडानको अवधिमा अन्य उडान भने हुने छैनन् । १० दिनसम्म क्यालिब्रेसन फ्लाइट भइसकेपछि नेपाल वायुसेवा निगमको विमानबाट परीक्षण उडान गरिने छ । परीक्षण उडानपछि व्यावसायिक उडानको तयारी गरिने छ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बुद्ध पूर्णिमादेखि व्यावसायिक सञ्चालनमा ल्याउने तयारी गरिएको छ । प्राधिकरणका महानिर्देशक अधिकारीले सबै काम समयमै सम्पन्न भएमा बुद्ध पूर्णिमादेखि सञ्चालनमा ल्याउने योजना रहेको जानकारी दिनुभयो । क्यालिबे्रसन उडानपछि त्यससम्बन्धी विस्तृत प्रतिवेदन दुई महिनापछि आउनेछ । प्रतिवेदनले परीक्षण उडानका लागि योग्य भएको उल्लेख गरेमा त्यसपछि परीक्षण उडान हुने उहाँले बताउनुभयो । परीक्षण उडानपछि व्यावसायिक उडान हुनेछ ।
कस्तो छ गौतम बुद्ध विमानस्थल ?
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल राष्ट्रिय गौरवको आयोजना हो । हाल भैरहवा विमानस्थलका रूपमा आन्तरिक उडान सेवा मात्र प्रदान गरिरहेको यो विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा स्तरोन्नति गर्न सन् २०१२ देखि पहल सुरु गरिएको हो ।
सन् २०१४ जनवरीदेखि निर्माण सुरु भएको विमानस्थल सन् २०१७ डिसेम्बरमा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो तर भूकम्प, ठेकेदारले भनेअनुसार काम गर्न नसक्नुजस्ता कारणले निर्माण अवधि पूरा गर्ने समयसम्म यसको एक चौथाइ भौतिक प्रगति पनि हुन सकेन । त्यसपछि आयोजनाको मुख्य वित्तीय सहयोगी एसियाली विकास बैङ्क (एडीबी)ले यसबाट अलग हुने निर्णय गरेको थियो । यद्यपि नेपाल सरकारले आयोजना सम्पन्न गर्ने प्रतिबद्धताका साथ काम अघि बढाएपछि आयोजनाले निरन्तरता पाएको थियो ।
अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा यसको धावनमार्ग तीन किलोमिटर रहेको छ । पहिलो चरणमा कार्गो भवन निर्माण तथा विमानस्थल टर्मिनल भवन, एटीसीलगायतका काम सम्पन्न भएका छन् । यो टर्मिनलको वार्षिक २० लाखसम्म हवाई यात्रुलाई सेवा दिने क्षमता छ । विमानस्थलमा वाइड बडी जहाज अवतरण गर्न सक्छन् । काठमाडौँमा मौसमको खराबीका कारण अवतरण हुन नसकेको जहाज पनि यो विमानस्थलमा अवतरण गर्न सक्छन् । काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले क्षमताभन्दा बढी यात्रुलाई उडान सेवा प्रदान गर्नु परिरहेको अवस्थामा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई यसको विकल्पका रूपमा हेरिएको छ ।
गौतम बुद्ध विमानस्थलका बारेमा.............
गौतम बुद्ध विमानस्थल नेपालको राजधानी काठमाडाैँबाट २९० किलोमिटर टाढा सिध्दार्थनगरमा रहेको विमानस्थल हो। यो नेपालको एक प्रमुख र बेला बेलामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउने भनेर चर्चा भइरहने विमानस्थल हो। यो विमानस्थल नेपालको राष्ट्रिय विभूति बुद्धको जन्मस्थल लुम्बिनीबाट सबैभन्दा नजिकको विमानस्थल हो। यो विमानस्थल सन १९५८ देखि शुरूभएको हो यो विमानस्थलमा जेट बस्न सक्ने बनाइएपछि यात्रुको चाप अझ बढेर गएको छ। वि.सं. २०७८ कार्तिक ६ गते नेपालको राष्ट्रपति विध्यादेवी भण्डारीद्वारा उद्घाटन गरिएको करिब साढे दुई अर्ब रुपैयाँ बराबरको १८०० केजीको भगवान बुद्धको मुर्तिलाई भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएको छ। यो स्पेनको लुम्बिनी गार्डेन फाउन्डेसनले नि:शुल्क उपलब्ध गराएको हो।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हवाई रुटपछि आइएफआर प्रोसिड्युर (यन्त्रका माध्यमबाट हुने उडान तथा अवतरण)मा भारतको असन्तुष्टि
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि नेपाल सरकारले तयार पारेको आइएफआर प्रोसिड्युर (यन्त्रका माध्यमबाट हुने उडान तथा अवतरण)मा भारतीय पक्षले असन्तुष्टि जनाएको छ। विमानस्थलका लागि अत्यावश्यक भैरहवा हवाई प्रवेश बिन्दुमा पहिलेदेखि नै अड्चन थाप्दै आएको भारतीय पक्षले आइएफआर प्रोसिड्युरमा अर्को विवाद खडा गरेको हो। नेपाल नागरिक उड्डयन प्राधिकरणले बनाएको आइएफआर प्रोसिड्युरमा भारतले असन्तुष्टि जनाएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय स्रोतले जानकारी दिएको छ। यसअघि भारतीय पक्षले जहाजहरू आफ्नाे आकाशबाट नेपाली आकाशमा प्रवेश गर्ने भैरहवाको स्थान (भैरहवा हवाई प्रवेश बिन्दु) नदिनकै लागि २१ हजार फिटमाथिबाट मात्र प्रवेश गर्नुपर्ने शर्त अघि सारेको थियो।
नेपालकाे आइएफआर प्रोसिड्युरमा भारतीय एयर स्पेस (आकाश) परेको भन्दै अवरोध सिर्जना गर्न खोजिएकाे प्राधिकरण स्रोतको भनाइ छ। भारतीय पक्षले क्रस बोर्डर उडानको अन्तर्राष्ट्रिय मापदण्ड र अभ्यासविपरीत अवरोध गर्न खोजेको हो। नेपालकाे आइएफआर प्रोसिड्युरमा न्यूनतम १ नटिकल माइलदेखि अधिकतम २ नटिकल माइलसम्म भारतीय क्षेत्रमा परेको छ।
उक्त विषयलाई लिएर भारतीय पक्षले आफ्नो भूभाग भित्रमात्रै पर्ने गरी आइएफआर प्रोसिड्युर तयार पार्न नेपाली पक्षलाई सुझाव दिएको प्राधिकरणले स्रोतको भनाइ छ। स्रोतका अनुसार भारतकाे विरोधपछि अहिले उक्त विषयमा प्राधिकरणले छलफल गरिरहेको छ। छलफलमा आइएफआर प्रोसिड्युर जसरी बनाए पनि केही भाग भारतीय आकाश प्रयोग हुने निष्कर्ष निकालेको प्राधिकरण स्रोतको दाबी छ।
प्रोसिड्युरमा भारतीय विरोध क्रस बोर्डर (सीमा पार) उडानको विश्वव्यापी मापदण्ड र अभ्यास अनुसार गर्ने गरी दुईपक्षीय छलफल गर्ने तयारी भएको छ। उक्त विषयमा भारतीय पक्षले भने नेपालले प्रयोग गर्न खाजेको आकाशीय क्षेत्रमा भारतीय सेनाको बेस क्याम्प रहेकाले हवाई मुभमेन्ट गर्न नमिल्ने तर्क गर्दै आएको छ।
‘भारतीय पक्षले आइएफआर प्रोसिड्युरमा असन्तुष्टि जनाएको छ,’ प्राधिकरण स्रोतले भन्यो, ‘यसअघि भारतले भैरहवा प्रवेश बिन्दु २१ हजार फिटभन्दा माथिबाट मात्र हुनुपर्ने भनेको थियो। भारतको पछिल्लो असन्तुष्टिसँगै विमानस्थलका काम अघि बढाउन समस्या भएको छ। भैरहवामा निर्माण भइरहेको विमानस्थल सञ्चालनका लागि प्रवेश बिन्दु नदिने भारतीय बुझाइ हुन सक्छ।’ भारतीय पक्षले झन्डै २ वर्षअघि तत्कालीन पर्यटनमन्त्री स्व रवीन्द्र अधिकारीका पालामा नै भैरहवाबाट नयाँ प्रवेश बिन्दु दिने विषयमा सहमति गरेको थियो। तर, अधिकारीको मृत्यपछि भने भारतले भैरहवा प्रवेश बिन्दु दिँदा २१ हजार फिट भन्दामाथिबाट मात्रै जहाजले प्रवेश गर्ने गरी दिने बताएको थियो। अहिले आएर भारतले भैरहवा विमानस्थल नै सञ्चालनमा अवरोध गर्ने गरी प्राधिकरणले तयार पारेको आइएफआर प्रोसिड्युरमा विरोध जनाएको हो।
नयाँ हवाई प्रवेश बिन्दुबारे अन्याेल यथावत्
भारतीय पक्ष र नेपाल सरकारबीच नयाँ हवाई प्रवेश बिन्दु थप्ने विषयमा भएका पुराना सम्झौता उल्लंघन भइसकेका छन्। भारतीय विमान प्राधिकरण र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच साढे २ वर्ष अगाडि नै नयाँ हवाई प्रवेश बिन्दु थप्ने विषयमा सहमति भएको थियो।
२०७५ जेठ पहिलो साता भएको दुईपक्षीय सम्झौताको उल्लंघन गर्दै पश्चिम दिशाबाट नेपाल आउने जहाजका लागि नयाँ हवाई प्रवेश बिन्दु नदिने निष्कर्षमा भारत पुगिसकेको छ। पछि २०७५ असोज अन्तिम साता भारतमा भएको दुईपक्षीय प्राविधिक टोलीको छलफलमा भारतीय पक्षले पश्चिम नेपालको महेन्द्रनगरदेखि नेपालगञ्जसम्मको कुनै पनि ठाउँबाट नयाँ प्रवेश बिन्दु दिन नसक्ने बताएको थियो। २०७५ वैशाखमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा नयाँ हवाई प्रवेश बिन्दुको विषय सुल्झाउन दुवै देशका प्राविधिक टोली खटाउने सहमति भएको थियो। तर, उक्त सहमति भएको ५ महिना पनि नबित्दै भारतीय पक्ष पश्चिम नेपालको कुनै पनि बिन्दुबाट प्रवेश नदिने पक्षमा पुगेको थियो।
नेपालको लागि सबैभन्दा बढी प्राथमिकतामा रहेको पश्चिम नेपालको प्रवेश बिन्दुको सट्टा पूर्वतर्फको विराटनगर, जनकपुर र भैरहवा प्रवेश बिन्दु (२१ हजार फिट भन्दा माथिबाट मात्रै प्रवेश गर्ने गरी) दिने सक्ने अडान भारतीय पक्षले दोहोर्याएको थियो।
उक्त समयमा भएको सम्झौतामा नयाँ हवाई प्रवेश बिन्दुका विषयमा दुईपक्षीय प्राविधिक टोली मिलेर ‘सेफ्टी एसेसमेन्ट’ गरी टुंगो लगाउने निर्णय भएको थियो। तर, पुनः भारतीय पक्षले विराटनगर र जनकपुरबाट हवाई प्रवेश बिन्दु दिन कुनै समस्या नरहे पनि पश्चिम नेपालको नेपालगञ्ज र महेन्द्रनगरबाट हवाई प्रवेश बिन्दु दिन भने आर्मी बेस क्याम्पको समस्या रहेको भन्दै आलटाल गर्दै आएको छ। यो विषय अझसम्म पनि समाधान भइसकेको छैन। भारतीय पक्षले पश्चिम नेपालको रुट नदिने तर भरैहवा थप गरेर पूर्वतर्फका जनकपुर र विराटनगर प्रवेश बिन्दु दिएर संख्या मात्रै बढाउने रणनीति बनाइरहेको छ। भारतीय पक्षले एउटा 'सानो मुलुकलाई यति धेरै प्रवेश बिन्दु दिएका छौं' भनेर देखाउन नेपालको लागि सबैभन्दा बढी प्राथमिकतामा रहेको प्रवेश बिन्दु नदिने तर संख्या भने बढेको देखाउने षड्यन्त्र गरेको प्राधिकरण स्रोत बताउँछ। नेपालका लागि निजगढ अन्तर्राष्ट्रिय विमानस्थल नबन्दासम्म अहिलकै प्रवेश बिन्दुले काम चल्ने प्राधिकरणका महानिर्देशक राजन पोखरेल बताउँछन्। 'निजगढ विमानस्थलका लागि मात्र जनकपुर प्रवेश बिन्दु आवश्यक हो। तर, अन्य विमानस्थलका लागि पश्चिम नेपालको नेपालगञ्जदेखि महेन्द्रनगरसम्मको कुनै एक ठाउँको प्रवेश बिन्दु नेपालका लागि आवश्यक छ,' पोखरेलले भने।
नयाँ हवाई प्रवेश बिन्दुमा ५ वर्ष आलटाल
नयाँ हवाई प्रवेश बिन्दुका विषयमा दुईपक्षीय छलफल सुरु भएको ५ वर्षभन्दा बढी समय बितिसकेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणले २०१६ डिसेम्बरदेखि छलफल सुरु गरे पनि नयाँ हवाई प्रवेश बिन्दुको विषय अझै ओझेलमै छ।
नयाँ हवाई बिन्दु नपाउँदासम्म नेपालले पूर्व र पश्चिमबाट आएका सबै जहाज सिमराबाट प्रवेश गरी काठमाडौं, पोखरा, भैरहवा र निजगढ विमानस्थलमा अवतरण गराउनुपर्ने बाध्यता हुनेछ। यही बाध्यता अन्त्यका लागि भारतीय पक्षसँग भएका सबै प्रयास छलफलमै सीमित भएको छ।
तत्कालीन प्रधानमन्त्रीहरू पुष्पकमल दाहाल र शेरबहादुर देउवाको भारत भ्रमणदेखि यो एजेन्डामा निरन्तर छलफल हुँदै आएको छ। जुन विषय अहिलेसम्म पनि यथावत् छ। नेपालले भारतीय पक्षसँग पूर्वका देशबाट आउने जहाज प्रवेशका लागि जनकपुर र विराटनगर बिन्दु माग गर्दै आएको थियो। सोहीअनुसार भारतीय पक्ष जनकपुर र विराटनगर प्रवेश बिन्दु दिन भने सहमत छ। तर, नेपालका लागि सबैभन्दा बढी प्राथमिकतामा रहेको पश्चिमतर्फका देशबाट आउने जहाजका लागि महेन्द्रनगर प्रवेश बिन्दुमा भने भारत सकारात्मक नभएको हो।
यसरी सुरु भएको नयाँ प्रवेश बिन्दुको छलफल
२०७३ को पुसमा नै नयाँ हवाई प्रवेश बिन्दुका विषयमा छलफलका लागि भारतीय पक्षले कोलकातामा बैठक गर्ने निर्णय गरेको थियो। तर पछि भारतीय पक्षले बैठक बस्न नै रुचि देखाएन। २०७४ असोजमा भारतीय पक्षले फेरि छलफलका लागि नेपाली पक्षलाई वार्तामा बोलाएको थियो। तर, नेपालमा चलिरहेको स्थानीय, प्रदेश र संघको निर्वाचन आचारसंहिताका कारण नेपाली टोली वार्तामा सहभागी हुन सकेन। निर्वाचनलगत्तै नयाँ सरकार गठन भयो।
प्रधानमन्त्री केपी ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निम्तामा २०७४ चैतमा भारत भ्रमणमा गए। त्यसबेलाको भ्रमणमा पनि नयाँ हवाई प्रवेश बिन्दुको विषयमा उच्चस्तरीय छलफल भयो। त्यसबेला नयाँ हवाई प्रवेश बिन्दु प्राविधिक विषय रहेको हुँदा साेही तवरबाट सल्टाउने निर्णय भयो।
त्यसलगत्तै फेरि नरेन्द्र मोदी २०७५ वैशाखमा नेपाल भ्रमणमा आए। भ्रमणमा फेरि नयाँ हवाई प्रवेश बिन्दुको कुरा छलफल भयो। छलफलले तत्कालै नयाँ प्रवेश बिन्दुको विषय टुंगो लगाउने गरी प्राविधिक टोलीलाई काम गर्न निर्देशन दियाे। त्यसलगत्तै गत जेठमा पाँच वटा नयाँ हवाई प्रवेश बिन्दु नेपालका लागि खुल्ला गर्ने गरी दुईपक्षीय प्राविधिक टोलीबीच एमओयू भएको थियो। तर, अन्त्यमा भारतीय पक्षले नेपाल नागरिक उड्डयन प्राधिकरणको टोलीलाई छलफलमा बोलाएर पूर्वतर्फको हवाई प्रवेश बिन्दु दिन कुनै समस्या नभए पनि पश्चिमतर्फ दिन नसक्ने जवाफ दिएको थियो।
पश्चिमतर्फका हवाई प्रवेश बिन्दुको फाइदा के?
नेपालको पूर्वमा पर्ने देश बंगलादेश, भारतको कोलकाता, थाइल्यान्ड, सिंगापुर, मलेसियालगायतका देशबाट आउने जहाज ’रोमियो ५८१’ रुट हुँदै सिमराबाट नेपाल प्रवेश गरी काठमाडौं अवतरण गरिरहेका छन्। यसैगरी पश्चिमबाट आउने जहाजले ’गल्फ ५८९’ रुट हुँदै सिमराबाटै काठमाडौं अवतरण गर्छन्। भूटानको पारोबाट आउने जहाज मेची प्रवेश बिन्दुबाट छिरेर तुम्लिङटार आउँदै काठमाडौं अवतरण गर्छन्।
चीनको ल्हासाबाट आउने जहाज भने ‘ब्राबो ३४५’ रुट हुँदै नुनिम बिन्दुबाट नेपाल छिरेर तुम्लिङटार हुँदै काठमाडौं अवतरण हुने गरेका छन्।
यसैगरी नेपालबाट पश्चिमतर्फका देश र दिल्ली जाने जहाजका लागि भने दुई वटा रुट छन्। एउटा काठमाडौंबाट उडेर भैरहवा हुँदै निस्कने र अर्को काठमाडौंबाट महेन्द्रनगर हुँदै बाहिरिने गरेका छन्। तर, बढी मात्रामा जहाज महेन्द्रनगर भएर बाहिरने गर्छन्।
यसैगरी पूर्वका देश जाने विमानका हकमा भने विराटनगर बिन्दु मात्रै हो। नेपालबाट कोलकाता, हङकङ र कोरिया जाने जहाजले यही बिन्दु प्रयोग गर्छन्। भूटानको पारो जाने विमानले भने काठमाडौंबाट तुम्लिङटार हुँदै मेची बिन्दुबाट बाहिरिने गर्छन् भने चीनको ल्हासा जाने जहाज जुन बाटो भएर आएका छन् त्यही बाटो जाने गरेका छन्।
सिमरा बिन्दुका तुलनामा नेपालगञ्ज प्रवेश बिन्दुबाट काठमाडौं आउने जहाजलाई १४ नटिकल माइल, भैरहवा आउने जहाजलाई १ सय ६९ नटिकल माइल र पोखरा जाने जहाजलाई १ सय ६५ नटिकल माइल दूरी कम पर्छ। यी विमानस्थलमा आउने जहाजका लागि सिमरा हुँदै आएर अवतरण गर्दा दूरी लामो पर्छ।
प्रायः पश्चिमबाट आउने जहाज दिल्ली भएर नै आउँछन्। दिल्ली हुँदै आएको जहाज सिमरा हुँदै काठमाडौं, पोखरा, भैरहवा र निजगढ जाने दूरी लामो पर्छ। यी विमानस्थलमा आउने जहाजका लागि सहज र छोटो दूरी नेपालगञ्ज प्रवेश बिन्दु नै हो। नेपालगञ्ज प्रवेश बिन्दु पाएको अवस्थामा एयरलाइन्स कम्पनीलाई पनि दूरी छोटो पर्ने र सिमराको बढ्दो एयर ट्राफिक जाम पनि कम हुने अवस्था आउँछ।
नेपालगञ्जबाट प्रवेश पाएको अवस्थामा उच्च तहबाट आएको जहाज विस्तारै उचाई घटाउँदै पोखरा, भैरहवा, काठमाडौं र निजगढमा अवतरण गर्न सक्ने अवस्था आउँछ।
नेपालगञ्जबाटै दिन नमिल्ने हो भने पश्चिमतिरको अर्को कुनै प्रवेश बिन्दु नेपालको आवश्यकता हो। तर, भारतीय पक्षले यो क्षेत्रमा सेनाको क्याम्प भएका कारण रुटमा असन्तुष्टि व्यक्त गरिरहेको छ। नेपाली पक्षले भने प्राविधिक उपाय अपनाएर भए पनि नेपालगञ्ज बिन्दु दिन भारतसँग माग गरिरहेको छ।
यसैगरी, महेन्द्रनगरबाट प्रवेश बिन्दु पाएको अवस्थामा पश्चिम तथा युरोपका देशबाट आउने जहाजले सिधै नेपाल प्रवेश पनि गर्न सक्ने अवस्था हुन्छ। यही रुट हुँदै हङकङ, कोरिया जाने जहाजलाई पनि दूरी कम हुन्छ। नेपाली आकाश प्रयोग गरेबापत् नेपाललाई केही आम्दानी पनि हुन्छ ।
आइएफआर प्रोसिड्युर (यन्त्रका माध्यमबाट हुने उडान तथा अवतरण) बारेमा भारत असन्तुष्ट हुने पर्ने कुनै कारण नरहेकाे बिज्ञहरुकाे दाबी
नेपाल भारत सिमा नजिक निर्माण भई सञ्चालनमा रहेका र हाल निर्माणाधिन विमान स्थलका बारेमा भारतले नेपाललाई सामान्य जानकारी समेत दिने गरेकाे छैन । एक बिज्ञले भने- आइएफआर प्रोसिड्युर (यन्त्रका माध्यमबाट हुने उडान तथा अवतरण) बारे दुबै देशकाे सहमति चाहिन्छ भने दुबै देशलाई चाहिन्छ । दुबै देशलाई सुरक्षा चाहिन्छ । दुबै देशले संवेदशील हुनु पर्याे ।
नेपाल बिकासाेन्मुख देश रहेकाे र नेपालमा भित्रिने अधिकांश पर्यटक भारतिय नै हुने गरेकाले यसले दुबै देशकाे सम्बन्ध झन बलियाे हुन्छ, त्यसमा भारतको टाउकाे दु:खाई अनावश्यक हाे, ति बिज्ञले भने- कसैले पनि एक पक्षीय कुरा गर्नुहुन्न । आ-आफ्नाे भुभागकाे उपभाेग र उपयाेग गर्ने अधिकार दुबै देशलाई हुन्छ । हरेक ठुला सरचनाकाे निर्माण गर्दा दुबै देशले समान व्यवहार गर्नु पर्छ । विकासमा साझेदारी गर्नुपर्छ । नेपालले अमुक देशकाे सहमति लिने र अमुक देशले नेपालकाे सहमति लिनु नपर्ने कहि हुदैन ।
नेपालले झापा, झापा, बिराटनगर, पाेखरा, भैरहवा, नेपालगन्ञ्ज र धनगढी बिमान स्ठललाई अन्तराष्ट्रिय बिमान स्थलका रुपमा विकास गर्न आवश्यक देखिन्छ । नेपालगन्ञ्ज र धनगढीमा बन्ने बिमान स्थलका बारेमा पनि भारतले अब्जेक्शन गर्ने गरेकाे छ, त्याे नियमसंगत छैन । नेपाली आकाशमा आवश्यकता परेकाे बेला भारतले नेपालको अनुमती नलिएरै कैयाै पटक बिमान उडाउने गरेकाे छ । उनले भने-नेपालले बिमान स्थलकाे स्तराेन्नती गर्न लाग्दा असन्तुष्टि व्यक्त गर्नु अन्यापूर्ण छ । नेपालको विकासमा भारत असन्तुष्ट हुनुहुन्न । नेपालमा समग्र विकासकाे दृष्टिकाेणले अति पछाडी परेकाे सुदूरपश्चिम र कर्णाली प्रदेशमा समेत रुट सहमती भारतले दिनै पर्छ ।
बडीमालिकाबाट तीर्थालुहरु नाटेश्वरी मन्दिर पुगे, जनै पूर्णिमा र रक्षा बन्धनका अवसरमा बाजुराको नाटेश्वरी मन्दिरमा भदौ १४ विहानैदेखि पूजा गर्न सकिने
बडीमालिका मन्दिरबाट तीर्थालु नाटेश्वरी मा पुगे, जनै पूर्णिमा र रक्षा बन्धनका अवसरमा बाजुराको नाटेश्वरी मन्दिरमा भदौ १४ विहानैदेखि पूजा गर्न
बिशेष पूजा सहित यस वर्षको बडीमालिका मेला सम्पन्न : तिर्थालुहरु बडीमालिकाबाट नाटेश्वरी मन्दिर क्षेत्र पुगे , नाटेश्वरी क्षेत्रमा तीर्थालुहरु खचाखच भरिए
ॐ भूभुर्वः स्वः मालिका देव्यै विद्महे सर्वशक्त्यै च धीमहि तन्नो मालिकाः प्रचोदयात् । दिव्य तिर्थ बडीमालिका: नेपालको धार्मिक, जैविक र पर्यटकीय
नेपालको दिव्य तिर्थ बडीमालिका : धरतीको स्वर्ग
दिव्ब तिर्थ बडीमालिका : धरतीको स्वर्ग बडीमालिका नेपालका प्रमुख मन्दिरहरूमा एक हो । बडीमालिका सुदूरपश्चिम
प्रतिकृया दिनुहोस