स्थानीय तहकाे चुनावमा एमालेलाई २ करोड ५८ लाख ७३ हजार ९ सय १३ मत र कांग्रेसलाई २ करोड ५० लाख २५ हजार ९ सय १९ मत, मतस‌ख्याका आधारमा एमाले शिर्ष स्थान कायम गर्न सफल

 

काठमाडौँ — बाजुराको बुढीगंगा नगरपालिकाबाहेक ७ सय ५२ स्थानीय तहकै अन्तिम मत परिणाम आइसकेको छ । कांग्रेसले सबैभन्दा बढी ३ सय २९ पालिकाको नेतृत्व पाएको छ । एमालेले २ सय ५, माओवादी केन्द्रले १ सय २१, जनता समाजवादी पार्टीले ३०, एकीकृत समाजवादीले २०, लोकतान्त्रिक समाजवादीले १६ र अन्य पार्टी तथा स्वतन्त्रले ३१ पालिकामा प्रमुख जितेका छन् । 

 

 

कांग्रेसले पालिका प्रमुखमा झन्डै ४४ प्रतिशत हिस्सा हात पारे पनि सातै पद (प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष, वडाध्यक्ष, महिला सदस्य, दलित सदस्य र दुई खुला सदस्य) को हिसाब निकाल्दा एमालेले सबैभन्दा बढी मत पाएको छ । यसमा निर्वाचन आयोगले उपलब्ध गराएको उदयपुरको त्रियुगा नगरपालिकाबाहेकको तथ्यांक विश्लेषण गरिएको हो । बाजुराको बुढीगंगा नगरपालिकामा पुनः निर्वाचन हुँदै छ । ७ सय ५१ पालिकामा सातै पदमा गरी ७ करोड ५८ लाख ९ हजार ७ सय ३२ मत सदर भएको थियो । जसमध्ये एमालेले २ करोड ५८ लाख ७३ हजार ९ सय १३ मत पाएको छ । यो कुल सदर मतको ३४ दशमलव १३ प्रतिशत हो । एमालेले पालिका प्रमुख र अध्यक्षमा सबैभन्दा बढी ३८ लाख ९ हजार ६ सय ९१ मत पाएको छ ।

 

 

एमालेले २०७४ को निर्वाचनमा सातै पदमा गरी २ करोड १४ लाख ५० हजार मत पाएको थियो । त्यति बेला एमालेका पालिका प्रमुख र अध्यक्षका उम्मेदवारले ३१ लाख मत पाएका थिए । त्यस्तै वडाध्यक्षले प्राप्त गरेको मत ३१ लाख रहेकामा यसपालि ३८ लाख मत खसेको छ । अघिल्लो चुनावमा भन्दा यसपालि कुल मतदाताको संख्या ३६ लाख ६१ हजार बढी थियो ।  स्थानीय तहको निर्वाचनमा दोस्रो मत कांग्रेसले पाएको छ । कांग्रेसले एमालेको भन्दा ८ लाख ४७ हजार ९ सय ९४ मत कम पाएको छ । कांग्रेसका सातै पदका उम्मेदवारले २ करोड ५० लाख २५ हजार ९ सय १९ मत पाएका छन् । यो कुल सदर मतको ३३ प्रतिशत हो । कांग्रेसले २०७४ मा २ करोड ८ लाख ७४ हजार मत पाएको थियो । २०७४ मा अध्यक्ष र प्रमुखमा कांग्रेसले ३१ लाख मत पाएकामा यसपालि ३७ लाख मत खसेको छ । वडाध्यक्षमा पाँच वर्षअघि ३१ लाख पाएको कांग्रेसले यसपालि ३९ लाख पुर्‍याएको छ ।

माओवादीले सदरमध्ये १ करोड १ लाख ३२ हजार ३ सय १५ अर्थात् १३ दशमलव ६५ प्रतिशत मत पाएको छ । उसले पाँच वर्षअघि सातै पदमा १ करोड १२ लाख १४ हजार १ सय ३३ मत पाएको थियो । माओवादीले २०७४ मा भन्दा १० लाख ८१ हजार ८ सय १८ मत कम पाएको हो । २०७४ को निर्वाचनमा माओवादीले प्रमुख/अध्यक्षमा १६ लाख मत पाएकामा यसपालि १३ लाख मात्रै खसेको छ । वडाध्यक्षमा पनि २०७४ मा १६ लाख ७८ हजार मत पाएको माओवादीले यसपालि १५ लाख मात्रै पायो ।

 

 

पहिलोपटक मतदातामाझ गएको एकीकृत समाजवादीले ३ दशमलव ९३ प्रतिशत मत पाएको छ । उसका उम्मेदवारले सातै पदमा गरी २९ लाख ८४ हजार ६ सय ७९ मत ल्याएका छन् । २०७४ मा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीले ३८ लाख ७२ हजार मत पाएको छ । यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी फोरमले पाँच वर्षअघि २७ लाख मत पाएको थियो । महन्थ ठाकुरसहितले नेतृत्व गरेको राष्ट्रिय जनता पार्टीले २०७४ को चुनावमा १७ लाख ६१ हजार मत पाएको थियो । ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले यसपटक १६ लाख ४५ हजार मत मात्रै पाएको छ । राप्रपाले पाँच वर्षअघि २० लाख मत पाएकामा यसपालि २६ लाख ७३ मत पाएको छ ।

यसपालिको स्थानीय चुनावमा सत्तारूढ दलहरू कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा र जनमोर्चाले विभिन्न पालिकामा तालमेल गरेका थिए । तालमेलका कारण कांग्रेस र माओवादीले पालिका नेतृत्वमा जित बढाएका हुन् । माओवादीले पाएको मत भने पाँच वर्षअघिको तुलनामा कम छ । एमालेले न्यून पालिकामा तालमेल गर्दा गएको स्थानीय तहभन्दा कम पालिका जिते पनि मत बढेको देखिन्छ ।

निर्वाचन आयोगका अनुसार यसपालि १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाता रहेकामा १ करोड २१ लाख ८२ हजार ४ सय ४९ जना अर्थात् ६८ दशमलव ७ प्रतिशतले मतदान गरेका थिए । जसमा करिब साढे १३ लाख मत बदर भएको छ ।

प्रतिकृया दिनुहोस

प्रधानमन्त्री प्रचण्ड र चीनका राष्ट्रपति सीबीच ऐतिहासिक भेटवार्ता: द्विपक्षीय हितका विविध विषयमा खुला र स्पष्ट रुपमा छलफल

  काठमाडौ, असोज ६ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनका राष्ट्रपति सी चीन फिङबीच ऐतिहासिक भेटवार्ता सम्पन्न भएको छ।  चीनको

नेपाली कांग्रेसको पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारमा सहभागी हुने निर्णय

काठमाडौँ,  चैत, ५- नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आज बसेको बैठकले पार्टी सरकारमा जाने निर्णय गरेको छ । सङ्घीय संसद् भवन नयाँ

रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित

काठमाडौं, २५ ,फागुन  -राष्ट्रपतिमा पूर्व सभामुख एवम् नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित हुनुभएको छ। राष्ट्रपति निर्वाचन