महालय-सोह्र श्राद्ध: भ्रम र यथार्थ

परलोक भैसकेका पितृलाई तर्पण पिण्ड दिएर उद्धार गर्ने जिम्मेवारी हरेक सन्तानको भएकाले पितृकार्यबिना गृहस्थका सबै कर्म निष्फल हुने

महालय-सोह्र श्राद्ध: भ्रम र यथार्थ

प्रेमनारायण भुसाल

सनातन पद्धतिमा मातापिता र गुरुलाई निकै आदर गरिन्छ। पितृको सेवा गर्नु, सन्तानको परम् कर्तव्य र अहोभाग्य समेत भएकाले वृद्ध आमाबाबुको सेवासुश्रुषा गरेर बस्ने अवसर पाएमा त्यस्ता व्यक्तिले अन्य देवताको पूजा गर्न र तीर्थयात्रामा दौडिनु पर्दैन भनिन्छ।

जीवित अवस्थामा रहेका साक्षात् देवताको सेवा र परलोक भैसकेका पितृलाई तर्पण पिण्ड दिएर उद्धार गर्ने जिम्मेवारी हरेक सन्तानको भएकाले पितृकार्यबिना गृहस्थका सबै कर्म निष्फल मानिन्छन्।

पितृ उद्धारबाटै आत्मोन्नतिको मार्ग खुल्ने भएकाले नै राजा भगीरथले दुःसाध्य साधनाबाट भागीरथीलाई पृथ्वीमा अवतरण गराएको पौराणिक कथा प्रसिद्ध छ । सनातन चिन्तनमा चतुर्वर्ग फलप्राप्तिलाई जन्मको सार मानिएको छ अर्थात् धर्तीमा मानवका रुपमा जन्मेपछि जन्मलाई सार्थक पार्न उसले धर्म, अर्थ, काम र मोक्ष प्राप्तिका कार्यहरु गर्नुपर्दछ ।

वंश परम्पराको निरन्तरता महत्त्वपूर्ण मानिएकैले सन्तान जन्मिएपछि पितृ ऋणबाट मुक्त हुने मान्यताले स्थान पाएको हो । कुनै पनि दैवी कार्य सम्पन्न गर्नुभन्दा अगाडि वा महोत्सवभन्दा अगाडि पितृलाई सम्झने परम्परा सनातन पद्धतिमा रहेको छ।

पितृ उद्धारको उद्देश्यले आफूलाई जन्म दिने र पालनपोषण गरेर मानवीय अस्तित्व दिने पुर्खाप्रति सम्मान व्यक्त गर्ने पर्वका रुपमा समेत श्राद्धलाई लिइन्छ। अरुलाई देखाउनका लागि वा आफ्नो सम्पन्नता प्रदर्शन गर्नका लागि श्राद्ध गरिँदैन, जुन कुरालाई श्राद्ध शब्दले नै स्पष्ट पारेको छ।

श्रद्धया दीयते अनेनेति श्राद्ध भनेर श्रद्धापूर्वक गरिने दानलाई मात्र श्राद्ध मानिएको छ। यसैले श्राद्ध हुनका लागि कर्तामा श्रद्धा तत्त्व अपरिहार्य देखिन्छ अर्थात् श्रद्धाबिना श्राद्ध हुन सक्दैन। श्रद्धाले जे उपलब्ध हुन्छ ती चिजहरू पितृलाई अर्पण गर्नु हरेक गृहस्थीको कर्तव्य हो।

श्राद्धका विभिन्न ९६ प्रकारहरु रहेका छन् तीमध्ये एक जनालाई मात्र उद्देश्य गरी देहावसान भएको तिथिमा गरिने श्राद्धलाई एकोद्दिष्ट श्राद्ध भनिन्छ भने विवाह व्रतबन्ध आदि मङ्गल कार्य गर्नुभन्दा अगाडि गरिने श्राद्धलाई आभ्युदायिक श्राद्ध भनिन्छ।

यस्तै तीर्थमा गरिने तीर्थ श्राद्ध र कामना विशेषले गरिने श्राद्धलाई काम्यश्राद्ध भनिएको छ। महान् पर्वहरु मनाउनुभन्दा अगाडि अर्थात् दशैँतिहारभन्दा ठिक अगाडि पर्वमुखमा गरिने श्राद्धलाई पार्वण/महालय वा सोह्र श्राद्ध भन्ने गरिन्छ।

गृहस्थीले सामान्यतया हरेक वर्ष नियमित रुपमा एकोद्दिष्टर पार्वण श्राद्ध गर्दछन्। महामारीका कारण यसवर्ष परिवारका सदस्यहरु एकै ठाउँ भेला भएर ब्राह्मणको उपस्थितिमा श्राद्ध सम्पन्न गर्ने अवस्था नरहेकाले श्राद्धको अन्य विकल्प हुन सक्ने कि नसक्ने भन्ने विषयमा पत्रपत्रिका र सामाजिक सञ्जालमा अनेक किसिमका बहसहरू सुरु भएका छन्।

यी बहसहरूमा शास्त्रीय मनसायभन्दा व्यक्तिगत धारणा हाबी भएको देखिन्छ । विभिन्न शास्त्रमा उल्लेख गरिएका श्राद्धसम्बन्धी दृष्टिकोणलाई अप्रासङ्गिक र टुक्रेरुपमा अर्थापन गरेर आफूलाई लागेको कुरालाई समर्थनहुने कुरा मात्र व्यक्त गर्दैअतिवादी प्रवृत्ति अँगाल्दा जनमानसमा श्राद्ध सम्बन्धी अनेक भ्रमहरू बढ्दै गएका छन्। प्रचलनमा रहेको पार्वण श्राद्ध विधिका सापेक्षतामा श्राद्धमा वास्तवमै के गरिन्छ भन्ने विषयमा शास्त्रीय आधारमा आम जनमानसलाई जानकारी गराउने प्रयासयस लेखमा गरिएको छ।

के गरिन्छ श्राद्धमा?

एकोद्दिष्ट श्राद्धमा एकजना पितृलाई मात्र उद्देश्य गरेर देहावसान भएको तिथिमा पिण्डदान गरिने भएकाले एउटा मात्र पिण्ड निर्माण गरिन्छ भने पार्वणश्राद्धमा पितृपक्षका तीन पुस्ता र मातृ पक्षका तीन पुस्तालाई सम्झेर छ ओटा पिण्डदान गरिन्छ भने सबै पितृहरुलाई तिलकुशका जलले तर्पण गरिन्छ।

पार्वणश्राद्धमा दुई जना विश्वेदेव र दुई पितृ ब्राह्मण गरी चार जना ब्राह्मण आवश्यक पर्दछन् । रिस नगर्ने, पवित्र, सत्यवादी, काम, क्रोध, लोभ र मोहनभएका ब्राम्हणलाई निमन्त्रणा गरेर श्राद्धको कर्म सुरु गरिन्छ। अक्रोधनैः शौचपरैः सततं ब्रह्मवादिभिः ।

भवितव्यं भवद्भिश्च मया चश्राद्धकारिणा ।
सर्वायासविनिर्मुक्तैः कामक्रोधविवर्जितैः ।
भवितव्यं भवद्भिर्नो अद्यतने श्राद्धकर्मणि ।

अन्य पूजाआजामा भन्दा श्राद्धमा उल्लेख भिन्नता भनेकै जीवित र भौतिक ब्राह्मणको उपस्थितिलाई अनिवार्य नमानी कुशका ब्राह्मण स्थापना गर्नु हो । कलियुगका संसारी ब्राह्मणहरू विभिन्न परिस्थितिका कारणले शास्त्रमा बताइएको जस्तै नियम र आचारमा रहन नसक्ने भएकैले परापूर्वकालदेखि नै कुशका ब्राह्मण निर्माण गर्ने परम्पराको विकास भएको देखिन्छ।

शुद्ध शब्द उच्चारण गरी हस्त क्रियालाई नियमितता दिनका लागि मात्र सशरीर सजीव ब्राह्मण यजमानको घरमा जाने मान्यता श्राद्धमा पाइन्छ । श्राद्धमा जे जति कामहरु गरिन्छन् ती सबै स्थापना गरिएका कुशका ब्राह्मणका अनुमतिमा गर्ने गरिन्छ । कुशका ब्राह्मणका प्रतिनिधिका रुपमा मन्त्रोच्चारण गर्ने ब्राह्मण रहने भएकाले कौशिक ब्राह्मणका तर्फबाट दिनुपर्ने निर्देशन उपस्थित ब्राह्मणले दिने गर्दछन्।

यसबाट श्राद्धमा सशरीर ब्राह्मण उपस्थितिलाई अनिवार्य हुनुपर्ने आशय शास्त्रको रहेको देखिन्न । पितृ तथा विश्वदेव ब्राह्मण स्थापना गरी कर्मको साक्षीका रुपमा दीप प्रज्वलन गरेर श्राद्ध सुरु गरिन्छ । कुशका ब्राह्मणहरुलाई निमन्त्रणा गरेपछि उनीहरु आफ्नो घरमा आएको कल्पना गर्दै गोडा धोइदिने, आसन राख्ने, हात धुनका लागि पानीको व्यवस्था गरिदिने अनि उनीहरुलाई नै साक्षी राखेर आफ्ना पितृको पूजा गर्छु भनेर सङ्कल्प गरिन्छ।

पितृकर्ममा हुन सक्ने अवरोधहरुलाई हटाउनका लागि दिग्बन्धन र नीविबन्धन गरिन्छ अनि ब्राह्मणहरूलाई विभिन्न उपचारले पूजा गरिन्छ। ब्राह्मणलाई मिष्ठान्न भोजनको व्यवस्था गरेपछि उनीहरु तृप्त भएको बुझेर ब्राह्मणको अनुमतिमा संस्कार नभईकन मृत्यु भएका र अरु कुनै कारणले आफ्नो कुलमा दशगात्र (मृत्युपछिको संस्कार, जुन संस्कारले मृतकलाई प्रेत योनीबाट पितृदेव बनाउँछ) विधि समेत नभएको अवस्थामा रहेका विकरहरूलाई पिण्ड दिइन्छ ।

यति भइसकेपछि मात्र पिण्डवेदी निर्माण गरेर सङ्कल्प गर्दै पितृहरूलाई क्रमशःपिण्डदान गरिन्छ । पिण्डदानपछि पिण्डको पूजा पिण्डको अक्षयका लागि जलधारा धुपदीप नैवेद्यको व्यवस्था गरी पिण्डपूजन सम्पन्न गरिन्छ । कार्य गर्दै जाँदा विभिन्न ठाउँमा विष्णु र लक्ष्मीको स्मरण गर्दै आफ्नो कुलमा राम्रो होस् भनेरआशिष समेत मागिन्छ ।

यी सबै काम सम्पन्न गरेपछि ऋतुपूजन सहित पितृहरुलाई विसर्जन गरिन्छ र कुशका ब्राह्मणहरुलाई दक्षिणा दान गरिन्छ। कर्मको समाप्तिमा मन्त्र वाचन गरेर सहयोग गर्ने ब्राह्मण, कन्या, दीनदुःखीहरूलाई दक्षिणा प्रदान गरेरश्राद्धका सम्पूर्ण कामहरु सम्पन्न हुन्छन्। हरेक कर्म गर्नुभन्दा अगाडि सङ्कल्प र विशेष मन्त्रहरुको उच्चारण गरिन्छ तर श्राद्ध अवधिभर ब्राह्मण भनेर कुशका ब्राह्मणलाई नै सम्बोधन र पूजन गरिन्छ।

यसर्थ कर्ता मन्त्रोच्चारण गर्नसक्ने र हस्तक्रियामा प्रोक्त भएमा स्वयम्ले नै पितृकार्य सम्पन्न गर्न सक्दछ। यदि ऊ हस्तक्रिया र मन्त्रोच्चारणमा समर्थ नभएमा श्राद्धकर्ममा सहयोग पु¥याउनका लागि शुद्धरुपमा मन्त्रोच्चारण गर्न सक्ने जुन कुनै व्यक्ति सहयोगी ब्राह्मण बन्न सक्दछ तर कशका ब्राह्मणबिना श्राद्धकर्म सम्पन्न हुन सक्दैन।

श्राद्धमा ब्राह्मणको भूमिका के हुन्छ त?

श्राद्धका लागि अपरिहार्य तत्त्व श्रद्धा हो । श्रद्धाका साथसाथै मन्त्रको शुद्ध उच्चारणलाई समेत श्राद्धमा जोड दिइन्छ। देवकार्यमा जस्तो शृङ्गार, सजावट र भव्यतालाईश्राद्धमा महत्त्व दिइँदैन, रङ्गीचङ्गी वस्त्र र आभूणषलाई निषेध गरिन्छ । कर्तालाई पूजा गर्ने सन्दर्भमा शुद्धसँग मन्त्रोच्चारण र हस्तक्रियामा स्पष्ट पारेर सहयोग पुर्‍याउने भूमिका पुरोहितको हुन्छ ।

कर्तालाई तिलक लगाइदिने ठाउँमा बाहेक अन्यत्र ब्राह्मणले शारीरिक रुपमा उपस्थित भएरै गर्नुपर्ने काम केही देखिँदैन । ब्राह्मणलाई अर्पण गरेका सिधा र दक्षिणा कौशिक ब्राह्मणले नलैजाने भएकाले मन्त्रपाठ गर्न उपस्थित भएका ब्राह्मणले नै लैजाने गरिएको हो । सङ्कल्प गरेर दान गरिएकाले सिधा भने कर्ता र उसका परिपारले भोग गर्न हुँदैन तर भान्जाभान्जी र ज्वाइँचेलालाई दिन भने मिल्दछ ।

त्यसो त स्थापनामा राखिएका सामग्रीहरु पितृ प्रसादका रुपमा कर्ता स्वयम्ले उपभोग गर्न पनि नमिल्ने कतै देखिँदैन । कर्म सम्पन्न भइसकेपछि अर्पण गरिएका चिजहरु कुनै सज्जन वा साधुलाई बाँड्न पनि सकिने देखिन्छ ।

यसैले ब्राह्मणको उपस्थितिबिना श्राद्ध रोकिन सक्दैन । अनलाइन मन्त्रपाठलाई मान्ने कि नमान्ने भन्ने सन्दर्भमा कर्ताको श्रद्धामै भर पर्दछ । कुनै खबर भेटेर प्रत्यक्ष भनिएन फोनबाट भनेको हो त्यसैले विश्वसनीय छैन भन्नु र अनलाइन मन्त्रपाठको अर्थ छैन भन्नु उस्तै कुरा हुन् । कर्तालाई श्रद्धा हुन्छ भने अनलाइन वा मोबाइलबाट दिइने निर्देशनकै आधारमा पनि श्राद्ध गर्न सकिन्छ ।

विवादको जड

अहिले सामाजिक सञ्जाल र सञ्चारका माध्यमहरुमा एकथरी व्यक्तिहरु अनलाइनका माध्यमबाट श्राद्ध गर्नै पर्ने भनेर प्रचारप्रसारमा जुटेका छन् भने अर्काथरी व्यक्तिहरू शास्त्रमा अनलाइन श्राद्धको प्रावधान नभएकाले यसरी गरिने श्राद्ध अमान्य हुने तर्कहरु प्रस्तुत गरिरहेका छन् ।

अनलाइनबाट श्राद्ध गर्ने र दक्षिणा पनि अनलाइन नै भुक्तानी गर्ने काममा नयाँ पुस्ताका ब्राह्मणहरू र केही व्यावसायिक संस्थाहरुको सक्रियता देखिएकाले भोलिका दिनमा श्राद्ध संस्कारमै विकृति फैलने होकि भन्ने डरले पुरानो पुस्ता तर्सिएको छ तर खुलस्त कुरा बाहिर प्रकाशित गर्नुको सट्टा आफूलाई सत्य सिद्ध गर्नका लागि यसरी गरिने काम शास्त्रीय होइन भनेर बढाइचढाइ गरेको देखिन्छ ।

संस्कार र संस्कृति मानव सभ्यतासँगै परिवर्तन भइरहन्छन् र अव्यावहारिक बन्न थालेका संस्कृतिलाई व्यावहरिक बनाउनु हरेक सभ्य समाजको कर्तव्य पनि हो अन्यथा सम्पूर्ण संस्कृति नै हराएर जाने डर हुन्छ ।

शास्त्रमा कलकारखानाबाट निर्माण भएका कपडा लगाउने, उद्योगधन्दाबाट उत्पादन गरिएका खाद्य वस्तुहरू उपभोग गर्ने र बजारबाट किनेर सामानहरु जुटाई पितृलाई अर्पण गर्ने कुराको कल्पना गरिएको थिएन। तत्कालीन उपलब्धता र परिस्थितिलाई बुझेर शास्त्रीय आशय नबिग्रने गरी व्याख्या नगर्ने हो भने हाम्रा हरेक संस्कारहरुमा खिया लाग्ने छ ।

श्राद्धका दिन पायस तथा दूध जुठो पारिदिन्छ भनेर जिजुबाले बिरोलो बाँधेको कुरा नबुझेर नातिले श्राद्धका दिन बाँध्नका लागिछिमेकीबाट बिरालो सापट ल्याउनु अनि सहरमा बस्ने पनातिले बिरालो नभेटेकाले बाबुको श्राद्ध गर्न नसकेको कुरा गर्नुजस्तै अबुझ बनेर वर्तमान परिस्थिति र आवश्यकताको मूल्याङ्कन गर्न नसक्नु पुरानो पुस्ताको ठूलो कमजोरी हो ।

श्राद्धमा गरिने हस्तक्रिया बुझिसकेपछि अनलाइन वा अफलाइन वा स्वयम्ले श्राद्ध गर्न सक्ने भएकाले यस्ता विषयमा अनावश्यक विवाद गरेर सर्वसाधारणलाई भ्रममा पार्नु राम्रो काम होइन।

सूर्य कन्या राशिमा भएको समयमा अर्थात् आश्विन कृष्ण पक्षका १६ दिन आफ्ना पितृहरुका लागि श्राद्ध गर्नुपर्ने कुरा ब्रह्माण्ड पुराणमा बताइएको छ – कन्यागते सवितरि यान्यहानि तु षोडशः । क्रतुभिस्तानि तुल्यानि देवो नारायणो ब्रवीत् । यसरी श्राद्ध गर्दा कर्तालाईआयु, सन्तान, धन, विद्या, सम्पत्ति, सुख, स्वर्ग र मोक्षसमेत प्राप्त हुने कुरा मार्कण्डेय पुराणमा बताइएको छ ।

आयुःप्रजां धनं विद्यां स्वर्गं मोक्षं सुखानि च
प्रयच्छन्तु तथा राज्यं पितरः श्राद्धतर्पिताः ।

कूर्म पुराणमा विधिपूर्वक आफ्ना पितृको श्राद्ध गर्ने व्यक्ति सांसारिक जन्म मृत्युबाट मोक्ष हुने कुरा बताइएको छ – योनेन विधिना श्राद्धं कुर्याद्वै शान्तमानसाः, व्यपेतकल्मषो नित्यं याति नावर्तते पुनः ।

विष्णुस्मृति पुराणमा श्राद्ध नगर्ने सन्तानहरु नर्क जान्छन् भनिएको छ – श्राद्धमेतत् न कुर्वाणो नरकं प्रतिपद्यते । आदित्य पुराणमा पनि श्राद्ध नगर्ने सन्तानको निन्दा गर्दै यस्ता व्यक्तिले सुख समृद्धि प्राप्त गर्न सक्दैनन् भन्ने कुरा बताइएको छ ।

अन्य विभिन्न पुराणहरुमा पनि आफ्ना पितृको सेवा नै सबैभन्दा ठूलो पुण्यकर्म भनेर वर्णन गरेको पाइन्छ । यसैले पुर्खाहरु जीवित रहुन्जेल उनीहरुलाई जीवित भगवान्का रूपमा र उनीहरूको देहावसानपछि कम्तीमा वर्षको दुईपटक उनीहरूका नाममा आफ्नो श्रद्धा भावलाई श्राद्ध कर्मका रुपमा व्यक्त गर्नुसन्तानको महत्त्वपूर्ण कर्तव्य अनि धर्म मानिएको छ।

भगवान् श्रीकृष्णले गीतामा बताएजस्तै श्राद्धका लागि पनि सम्पूर्ण चिजबिजहरु उपलब्ध हुनुपर्छ नै भन्ने छैन । आफूसँग जुन चिज उपलब्ध छन् श्रद्धापूर्वक पितृलाई अर्पण गर्नु यस दिनको विशेषता हो। श्राद्धका लागि आवश्यक पर्ने कुनै पनि चिज छैनन् भने पनि श्रद्धाभाव छ भने श्राद्ध रोकिँदैन । आफ्नो श्रद्धालाई मात्र अर्पण गर्दा पनि पितृ तृप्त हुने कुरा शास्त्रहरुमा पाइन्छ ।

आफूश्राद्ध गर्न असमर्थ भएको अवस्था वा वस्तुहरु जुटाउन नसकेको अवस्थामा आकाशतिर हात उठाउँदै पितृहरूको स्मरण गरेर आफ्नो असमर्थता र बाध्यता बताउँदै श्रद्धाभाव अर्पण गर्दै क्षमायाचना गर्नाले मात्र पनि पितृहरू तृप्त र सन्तुष्ट हुन्छन् भन्ने कुरा विष्णु पुराणमा बताइएको छ।

न मे.स्ति वित्तं न धनं न चान्यतच्छ्राद्धोपयोग्यं स्वपितृन्नतो.स्मि।
तृप्यन्तु भवत्या पितरो मया एतौ कृतौ भुजौ वत्र्मनि मारुतस्य ।

सोह्रश्राद्ध पितृपक्षमा गर्न नसके के गर्ने?

अस्वस्थता र अन्य बाध्यात्मक अवस्थाले सोह्र श्राद्ध पितृपक्षभित्र गर्न नसकेमा कात्तिक मसान्तसम्म पनि गर्न सकिने व्यवस्था देखिन्छ। सन्तानले आफ्नो पितृका लागि सम्भव भएसम्म सोह्र श्राद्धका दिनमा र सो सम्भव नभएमा कार्तिक मसान्तसम्मका उपयुक्त दिनमा पितृलाई तृप्त गर्नका लागि श्राद्ध गर्नुपर्दछ ।

कात्तिक मसान्तसम्म पनि श्राद्ध गर्न सकिएन भने यस वर्षका लागि श्राद्ध अर्थात् पार्वण÷महालय श्राद्ध गर्न सकिँदैन । सन्तानले आफूलाई सम्झेर पिण्डदान गर्दछन् भन्दै पृथ्वीलोक नजिकमा आएका पितृहरु कार्तिक मसान्तपछि निराश हुँदै पितृलोकमा फर्कन्छन् भन्ने विश्वास छ –  निराशाः पितरो यान्ति यावत् वृश्चिक दर्शनात् ।

निष्कर्ष

सनातन परिपाटीमा मानव योनीमा जन्म लिइसकेपछि हरेक मानवको धर्म, अर्थ, काम र मोक्ष प्राप्ति जीवनको लक्ष्य रहेको हुन्छ । यी सबै सिद्धि प्राप्त गर्नका लागि आफ्ना पितृहरुको सम्मान र सत्कार गर्नुपर्ने मान्यता रहेको छ।

महान् दैवी पर्व दशैँतिहार अगाडि पार्वण श्राद्ध गर्नु हरेक सन्तानको परम कर्तव्य मानिन्छ । यसरी गरिने श्राद्धले पितृहरुको उद्धार हुनुका साथै श्राद्धकर्ताको जीवनमा सुख, शान्ति समृद्धि र अन्ततः मोक्षसमेत प्राप्त गर्ने बाटो खुल्दछ।

यसैले श्राद्धआफ्ना पुर्खाप्रति कृतज्ञता व्यक्त गर्ने महान् उत्सवमा रुपमा रहेको देखिन्छ । अनलाइनका माध्यमबाट श्राद्ध हुने कि नहुने भन्ने विषयमा ब्राह्मणको प्रत्यक्ष उपस्थितिबिना अनुष्ठानहरू पूरा हुने अवस्था देखिएकाले श्रद्धाभाव छ भने अनलाइनका माध्यमबाट सहयोग लिएर श्राद्ध गर्न कुनै अवरोध देखिँदैन ।

श्राद्धस्थलमा बसेर पाठ गर्ने व्यक्तिले उपस्थित हुन असम्भव भएको अवस्थामा टाढै बसेर पनि अनलाइनका माध्यमबाट मन्त्रोच्चारण गरी कर्तालाई निर्देशन गर्ने काम सम्पन्न गर्न सक्दछ।

अन्य सामान्य अवस्थामा भने एकै ठाउँमा जम्मा भएर ब्राह्मणकोनिर्देशनमा श्राद्ध गर्नु उपयुक्त हुन्छ।सोह्र श्राद्ध तोकिएका १६ दिनमै सम्पन्न गर्नुपर्छ भन्ने छैन, अप्ठ्यारो अवस्थामा कार्तिक मसान्तसम्म पनि गर्न सकिने भएकाले यदि ब्राह्मणको भौतिक उपस्थितिमा श्राद्ध गर्ने इच्छा छ भने त्यस्ता व्यक्तिले केही समय पर्खिएर अवस्था सामान्य भएपछि श्राद्धको कर्म सम्पन्न गर्न सक्नेछन् ।

यसैले कोही कसैले पनि श्राद्ध नगर्दा हुने अनिष्टको प्रचारप्रसार गर्ने तथा कसरी श्राद्ध गर्ने भन्ने कुरामा आम नागरिकलाई अल्मल्याउने काम गर्नु राम्रो होइन । मनमा श्रद्धा भएमा उपलब्ध सामग्रीको प्रयोग गरी जुनसुकै माध्यमबाट पनि श्राद्धसम्पन्न गर्न सकिने भएकाले एकलाई विधिसम्मत र अर्कोलाई विधिहीन भनेर आरोप गर्न सकिँदैन।

आफ्नो गच्छेअनुसार उपलब्ध सुविधालाई आत्मसाथ गरेर वैकल्पिक विधिबाट वा कात्तिक मसान्तसम्म पितृलाई पिण्ड दान गर्न सकिने भएकाले श्राद्धकर्ताले आफूलाई अनुकूल हुने विधिको चयन गर्न सक्नेछन् ।( साभार: देशसन्चार.कम)

 

प्रतिकृया दिनुहोस

नेपाली सेनाको गौरवमय इतिहास

नेपाली सेनाको गौरवमय इतिहास डा. प्रेमसिंह बस्न्यात मलाउ किल्ला  । यहाँ डेभिड अक्टरलोनीको नेतृत्वमा युद्ध भएको थियो । यही किल्ला नजिक सरदार भक्ति

योगी नरहरिनाथ, वेद, वेदान्त, इतिहास, पुरातत्त्व, पुराण जस्ता अति गहन विषयहरूका ज्ञाता, प्रकान्ड विद्वान् योगी आजीवन अन्वेषक

योगी नरहरिनाथ योगी नरहरिनाथ (१९७१-२०५९) नेपालका एक अध्यात्मिक व्यक्ति थिए। उनी नेपालका उद्भट आध्यात्मिक व्यक्तित्वका रूपमा परिचित छन्। वेद,

क्रोध  सर्वनाशी छ, क्रोध आउदा अति संवेदनशील र संयमित बनौं ।

ॐ भूर्भुव स्वः तत्सवितुर्वरेण्यं, भर्गो देवस्य धीमहि, धियो यो नः प्रचोदयात् ॥ क्रोध  सर्वनाशी छ, क्रोध आउदा अति संवेदनशील र संयमित बनौं ।