रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित

काठमाडौं, २५ ,फागुन  -राष्ट्रपतिमा पूर्व सभामुख एवम् नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित हुनुभएको छ। राष्ट्रपति निर्वाचन अधिकृतको कार्यालय अनुसार उहाँ ३३ हजार ८०२ मत भारसहित निर्वाचित हुनुभएको हो।

राष्ट्रपति पदका अर्का उम्मेदवार पूर्व सभामुख एवम् नेकपा (एमाले) उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले भने १५ हजार ५१८ मत भार पाउनुभएको छ। नवनिर्वाचित राष्ट्रपति पौडेललाई नेपाली कांग्रेससहित नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा, नेपाल समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी गरी नौ दलको समर्थन रहेको थियो। 

उहाँ मङ्सिर ४ गते सम्पन्न सङ्घीय निर्वाचनमा तनहुँ १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित हुनुभएको थियो ।  राष्ट्रपति निर्वाचनकै दिनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मतदान गर्ने उम्मेदवारको नाम नखुलाए पनि राष्ट्रपति निर्वाचनको मतदानमा सहभागी भयो। नेपाली कांग्रेसले फागुन १३ गते शनिबार पार्टीका वरिष्ठ नेता पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो। निर्वाचन अधिकृतको कार्यालयले नवनिर्वाचित राष्ट्रपतिलाई आजै प्रमाणपत्र वितरण गर्ने तयारी गरेको छ। 

राष्ट्रपतिको निर्वाचन सङ्घीय संसद् (प्रतिनिधि सभा र राष्ट्रिय सभा) र प्रदेश सभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुन्छ । राष्ट्रपति निर्वाचनमा सङ्घीय संसद्तर्फ तीन सय ३२ र प्रदेश सभा सदस्य पाँच सय ५० गरी कूल आठ सय ८२ मतदाता कायम छन् । सङ्घीय सांसदको मतभार ७९ र प्रदेश सभा सदस्यको मतभार ४८ छ ।     

निर्वाचनमा तीन सय १३ सङ्घीय सांसद र पाँच सय १८ प्रदेश सभा सदस्यले मतदान गर्नुभएको थियो । राष्ट्रपति पदको मतदानका लागि आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान भएको थियो । मतदानका लागि नयाँ वानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा सङ्घीय सांसद र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्रमा कायम गरिएको थियो ।   

राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडलको जीवनी

blog

नव निर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल । तस्बिर : रासस

मुलुकको चौंथो राष्ट्रपतिका लागि बिहीबार सम्पन्न मतदानबाट नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वसभामुख रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ।

पौडेलको जन्म आमा ऋषिमाया र बुवा दुर्गाप्रसाद पौडेलबाट वि.सं २००१ असोज २९ गते  तनहुँको साविक मिर्लुङ बाहुनपोखरामा भएको हो। उहाँका श्रीमती सविता पौडेल र चार छोरी (शर्मिला, संज्ञा, अनुज्ञा, अवज्ञा), एक छोरा (चिन्तन) हुनुहुन्छ।

 मध्यमवर्गीय किसान परिवारमा जन्मनुभएका पौडेलको स्थायी बसोबास व्यास-८ बेलथुम्की तनहुँ हो भने हालको ठेगाना काठमाडौँ-१६ बोहोराटार बालाजु हो। उहाँले शास्त्री (संस्कृत साहित्य, २०२४), स्नातकोत्तर (नेपाली साहित्य २०२७) शिक्षा लिनुभएको छ।

वि.सं २०१६ मा पोखरामा हिमालयन छात्र सङ्घ स्थापना गर्नुभएका पौडेल पोखरा विन्ध्यवासिनी पाठशालामा अध्ययन गर्दैगर्दा वि.सं २०१७ जेठ-असारमा नेपाल संस्कृत छात्र सङ्घको काठमाडौँ अधिवेशनमा प्रतिनिधि हुनुभएको थियो। वि.सं २०१७ पुस १ गते जननिर्वाचित संसद् भङ्ग गरीे प्रधानमन्त्री बीपी कोइरालालगायत नेतालाई जेलमा राखिएको विरोध गर्दै उहाँ प्रजातान्त्रिक आन्दोलनमा सहभागी हुनुभएको हो।

नन्दीरात्रि माविबाट एसएलसी परीक्षा उत्तीर्ण गर्नुभएका उहाँले नन्दीरात्रि मावि विद्यार्थी सङ्घको संस्थापक अध्यक्ष, रानीपोखरी मावि विद्यार्थी सङ्घको अध्यक्ष, जुद्धोदय हाइस्कुलमा विभिन्न २२ विद्यालयका विद्यार्थीको भेला गराई स्वतन्त्र विद्यार्थी युनियनको माग गर्दै त्यससम्बन्धी आन्दोलनको नेतृत्व गर्नुभएको थियो। 

उहाँ वि.सं २०१९ मा नेपाल संस्कृत विद्यार्थी सङ्घको सचिवको हैसियतमा २०१९-२०२० सालमा उपत्यका आन्दोलनमा र २०२०-२०२१ सालमा राष्ट्रव्यापी स्वतन्त्र विद्यार्थी आन्दोलनमा उहाँ गिरफ्तार हुनुभएको थियो।

कांग्रेस तनहुँको सदस्य (२०३४) र जिल्ला उपसभापति (२०३६) को जिम्मेवारी सम्हाल्नुभएका नेता पौडेल जनमत सङ्ग्रहको सिलसिलामा बहुदलीय व्यवस्थाको प्रचार-प्रसार गर्न गठित कांग्रेस तनहुँ समितिको संयोजक २०३७, कांग्रेस केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख २०४० र वि.सं २०४३ मा कांगेस केन्द्रीय सदस्य हुनुभएको थियो।

कांगेस केन्द्रीय महामन्त्री (२०६२-२०६४), कांगेस केन्द्रीय उपसभापति (२०६४-२०७२), कांग्रेस संसदीय दलको नेता (२०६४-२०७०) हुनुभएका पौडेल २०७२ सालमा कांगेसको केन्द्रीय कार्यवाहक सभापति हुनुभएको थियो।

भरतपुर कब्जा गर्ने कांग्रेसको सशस्त्र सङ्घर्षमा संलग्न भएको आरोपमा वि.सं २०१८ मा काठमाडौँबाट गिरफ्तार भई पहिलोपटक करिब एक महिना हिरासत सजाय भोग्नुभएका पौडेल विद्यार्थी आन्दोलनका क्रममा गिरफ्तार हुनुका साथै त्यसपछिका विभिन्न राजनीतिक आन्दोलनका क्रममा राजनीतिक जीवनमा २०१८ देखि २०६२ सम्म १४ वर्षभन्दा बढी जेल जीवन व्यतित गर्नुभएको थियो।

उहाँ २०४८ सालमा तनहुँ क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएको थियो भने त्यसपछि तनहुँ क्षेत्र नं. २ बाट २०५१, २०५६, २०६४, २०७० मा लगातार प्रतिनिधि सभा निर्वाचन र संविधानसभा निर्वाचनमा निर्वाचित हुनुभएको थियो। गत मङ्सिर ४ गते भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा उहाँ तनहुँ क्षेत्र नं. १ बाट निर्वाचित हुनुभएको हो।

निर्वाचनपछि पहिलोपटक २०४८ सालमा स्थानीय विकासमन्त्री, वि.सं २०४९ मा कृषिमन्त्री हुनुभएका उहाँ २०५१ पुस २ गते प्रतिनिधिसभाको सभामुख निर्वाचित हुनुभएको थियो। पौडेल २०५६ साल र त्यसपछि उपप्रधान तथा सूचना/सञ्चार मन्त्री, स्थानीय विकासमन्त्री, उपप्रधान तथा गृहमन्त्री हुनुका साथै शान्ति समितिको संयोजक (२०६१-२०६२), शान्ति तथा पुनःनिर्माणमन्त्री (२०६३-२०६४), कांग्रेस संसदीय दलको नेता तथा संसद्मा प्रमुख प्रतिपक्षी दलको नेता (२०६४-२०७०) को जिम्मेवारी सम्हाल्नुभएको थियो।

पौडेलले मानवअधिकारसम्बन्धी विभिन्न पुरस्कार, महेन्द्रविक्रम शाह पुरस्कार (महेन्द्रविक्रम शाह नेपाल प्रजातन्त्र कांग्रेसका संस्थापक हुन्), जापान सरकारले प्रदान गरेको राजकीय सम्मान ‘अर्डर अफ द राइजिङ सन’को सम्मान- सन् २०२०० लगायत सम्मान तथा पुरस्कार प्राप्त गरिसक्नुभएको छ।

उहाँका नेपाली कांग्रेसको सङ्क्षिप्त इतिहास, प्रजातान्त्रिक समाजवाद एक अध्ययन २०४७, नेपाली कांग्रेस र नेपालको आधुनिकीकरण, नेपाली कांग्रेस के भन्छ ?, आस्थाको यात्रा (राजनीतिक विश्लेषण) २०५५, नेपाली कांग्रेस अबको बाटो प्रजातान्त्रिक समाजवाद २०७५, कृषिक्रान्ति र समाजवाद, राजनीतिको राजमार्ग २०७९, नेपाली कांग्रेस रूपान्तरणको मार्गचित्र, नयाँ सन्दर्भमा समाजवाद, अभिशप्त इतिहास (माघ १९ को काण्डपछि) लगायत दर्जनौँ पुस्तक तथा विभिन्न विषयमा पत्रपत्रिका तथा अनलाइनमा समसामयिक लेख रचना प्रकाशित छन्।

वि.सं २०२५ मा बिपी कोइराला सुन्दरीजल जेलबाट रिहा भएपछि तत्कालीन विद्यार्थी नेता रामचन्द्र पौडेललाई भेट्न सेन्ट्रल जेल जानु भएर अविचलित नहुन आग्रह गर्दै प्रजातान्त्रिक आन्दोलनको नेतृत्व गर्न प्रेरणा दिनुभएको थियो। त्यहाँ बीपीसँग पौडेलको पहिलो भेट भएको थियो। त्यसबेला बीपीले पौडेलसँगै जेलमा रहनुभएका कम्युनिष्ट नेताहरू मनमोहन अधिकारी, शम्भुराम श्रेष्ठ र कमल कोइरालालाई पनि भेट्नुभएको थियो। 

राजनीतिक जीवनमा वि.सं २०१८ देखि २०६२ सम्म १४ वर्षभन्दा बढी जेल जीवन व्यतित गर्नुभएका उहाँ समाजवादी चिन्तक र प्रयोगकर्ता तथा स्वच्छ छवि, सादा जीवन, उच्च विचारका प्रयोगधर्मी हुनुका साथै स्पष्ट वक्ता र प्रजातान्त्रिक समाजवादका व्याख्याताको विशेष पहिचान बनाउनुभएको छ।

नवनिर्वाचित राष्ट्रपति पौडेललाई प्रधानमन्त्रीसहित शीर्ष नेताको बधाई

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बधाई दिनुभएको छ। राष्ट्रपति पदमा विजयी हुनुभएका पौडेललाई सङ्घीय संसद् भवन नयाँबानेश्वर पुगेर प्रधानमन्त्री प्रचण्डले बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको हो। 

नवनिर्वाचित राष्ट्रपति पौडेललाई पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पूर्व प्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले बधाई तथा शुभकामना दिनुभएको छ। बिहीबार भएको राष्ट्रपतिको मतदानमा पूर्व सभामुख एवम् नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित हुनुभएको हो। उहाँ ३३ हजार ८०२ मत भारसहित निर्वाचित हुनुभएको हो।

राष्ट्रपति पदका अर्का उम्मेदवार पूर्व सभामुख एवम् नेकपा (एमाले) उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले भने १५ हजार ५१८ मत भार पाउनुभएको छ।

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बिहीबार बधाइ तथा शुभकामना दिनुहुँदै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा । साथमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’,  नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल । 

प्रतिकृया दिनुहोस

प्रधानमन्त्री प्रचण्ड र चीनका राष्ट्रपति सीबीच ऐतिहासिक भेटवार्ता: द्विपक्षीय हितका विविध विषयमा खुला र स्पष्ट रुपमा छलफल

  काठमाडौ, असोज ६ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनका राष्ट्रपति सी चीन फिङबीच ऐतिहासिक भेटवार्ता सम्पन्न भएको छ।  चीनको

नेपाली कांग्रेसको पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारमा सहभागी हुने निर्णय

काठमाडौँ,  चैत, ५- नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आज बसेको बैठकले पार्टी सरकारमा जाने निर्णय गरेको छ । सङ्घीय संसद् भवन नयाँ

सङ्क्रमणकालीन न्याय :सङ्क्रमणकालीन न्याय निरूपणको मुद्दा कुनै एक दलसँग सम्बद्ध दलीय मुद्दा नभई मुलुककै साझा मुद्दा

  माओवादी जनयुद्धकालीन मुद्दा र सङ्क्रमणकालीन न्याय शान्ति सम्झौतामार्फत एक दशक लामो सशस्त्र द्वन्द्वको अवतरणसँगै तत्कालीन नेपाल