रङ्गमञ्चबाट बाजुरामा सामाजिक रूपान्तरणको बहस: ‘समाजको ऐना’ सडक नाटक सामाजिक रूपान्तरणको एउटा बलियो र सकारात्मक माध्यम बन्न सफल
‘समाजको ऐना’ केवल एउटा नाटक मात्र नभई सामाजिक रूपान्तरणको एउटा बलियो र सकारात्मक माध्यम बन्न सफल
रङ्गमञ्चबाट बाजुरामा सामाजिक रूपान्तरणको बहस: ‘समाजको ऐना’ सडक नाटक सामाजिक रूपान्तरणको एउटा बलियो र सकारात्मक माध्यम बन्न सफल
-खेम मिजार
त्रिवेणी (बाजुरा)- बाजुराको त्रिवेणी नगरपालिकामा कानुनले वर्जित गरे पनि व्यवहारमा अझै पूर्ण रूपमा अन्त्य हुन नसकेका सामाजिक कुरीतिहरू विरुद्ध समाजको ऐना नामक सडक नाटक प्रदर्शन गरिएको छ । जर्मनीको सङघीय तथा विकास मन्त्रालय(Federal Ministry for Economic Cooperation and Development-BMZ)को आर्थिक सहयोग, सामुदायिक विकास केन्द्र (CDC) डोटी र त्रिवेणी नगरपालिकाको समन्वय एवं सहकार्यमा त्रिवेणी नाट्य क्लबद्वारा प्रस्तुत सडक नाटक ‘समाजको ऐना’ ले स्थानीयस्तरमा चेतना अभिबृद्धि गर्ने काम गरेको छ । हालै त्रिवेणी नगरपालिकाका तोलीदेवल डाँडा, त्रिभुवनेश्वरी माध्यमिक विद्यालय क्षेत्र छतारा र कैलाशमाडौ डाँडा बजार क्षेत्र जस्ता महत्वपूर्ण स्थानहरूमा आयोजना गरिएका शृङ्खलाबद्ध सडक नाटक प्रदर्शनहरूले यस क्षेत्रका आम नागरिक र सरोकारवालाहरूको ध्यान केन्द्रित गर्न सफल भएको छ।त्रिवेणी नाट्य क्लव, त्रिवेणी नगरपालिका–४ तोली बाजुराको आयोजनामा ‘समाजको ऐना’ नामक सडक नाटक कार्यक्रम विभिन्न स्थानमा सञ्चालनले सचेतना अभिबृद्धि भएको देखिन्छ । ‘समाजको ऐना’ सडक नाटक यही २०८३ साल असोज १२ गते त्रिवेणी नगरपालिका–४ तोली, असोज १३ गते त्रिवेणी नगरपालिका–७ कैलाशमाण्डौँ डाँडा र असोज १४ गते त्रिवेणी नगरपालिका–२ चाल्लेगडा मा प्रदर्शन गरिएको आयोजक त्रिवेणी नाट्य क्लवले जनाएको छ।सडक नाटकमार्फत समाजमा रहेका विभिन्न किसिमका विभेद, कुरीति, अन्धविश्वास तथा सामाजिक समस्याको अन्त्य गर्दै सकारात्मक सोचको विकास गर्नुपर्ने सन्देश प्रवाह गरिएको थियो।नाटकमा सरकारी विद्यालय र बोर्डिङ स्कुलमा अध्ययन गर्ने विद्यार्थी तथा बालबालिकाबीच हुने भेदभाव अन्त्य गर्नुपर्ने विषयलाई विशेष रूपमा प्रस्तुत गरिएको थियो। सबै बालबालिकाले समान अवसर र सम्मान पाउनुपर्ने सन्देश नाटकमार्फत दिइएको थियो।त्यस्तै, बाढी–पहिरोजस्ता प्राकृतिक विपद्का समयमा एक–अर्कालाई सहयोग तथा उद्धार गर्नुपर्ने, विपद्को समयमा मानवीय सहयोग र सहकार्य आवश्यक हुने विषयलाई पनि नाटकमार्फत प्रस्तुत गरिएको थियो।स्वास्थ्यसम्बन्धी अन्धविश्वास र गलत धारणाका कारण उपचारमा ढिलाइ गर्न नहुने तथा बिरामी पर्दा आवश्यक स्वास्थ्य उपचारका लागि स्वास्थ्य चौकी र अस्पताल जानुपर्ने सन्देश पनि नाटकले दिएको थियो।त्यसैगरी, अपाङ्गता भएका व्यक्तिको अपमान नगर्ने, जातीय छुवाछुत तथा विभेदको अन्त्य गर्ने र फरक सोच तथा मानसिकता भएका व्यक्तिलाई समेत सम्मान गर्नुपर्ने विषयलाई कथाका माध्यमबाट प्रस्तुत गरिएको थियो।
सडक नाटकको अर्को महत्वपूर्ण विषय बालविवाह रहेको थियो। सानै उमेरमा विवाह गर्दा विशेषगरी किशोरी तथा महिलाको स्वास्थ्यमा गम्भीर जोखिम पर्न सक्ने र ज्यानसमेत जान सक्ने अवस्था आउन सक्ने भएकाले उमेर नपुगी विवाह गर्न नहुने सन्देश नाटकमार्फत प्रस्ट पारिएको थियो। विवाह गर्नै परेमा शारीरिक, मानसिक तथा सामाजिक रूपमा परिपक्व भएपछि मात्र विवाह गर्नुपर्ने सन्देश दिइएको थियो।त्यस्तै, जातीय तथा अन्तरजातीय विवाह गर्ने व्यक्तिलाई समाजबाट अपमान, घृणा र विभेद गर्ने परम्परागत सोचको अन्त्य गर्नुपर्ने विषय पनि नाटकमा समेटिएको थियो। मानिसको जातभन्दा मानवता र समान व्यवहार महत्वपूर्ण हुने सन्देश नाटकले दिएको थियो।
गर्भवती महिला तथा आमा र बच्चाको स्वास्थ्य सुरक्षित राख्न नियमित रूपमा स्वास्थ्य चौकीमा पटक–पटक स्वास्थ्य जाँच गराउनुपर्ने विषयलाई समेत कथाको मुख्य उद्देश्यका रूपमा प्रस्तुत गरिएको थियो।समाजमा रहेका विभेद, बालविवाह, छुवाछुत, अन्धविश्वास तथा स्वास्थ्यसम्बन्धी गलत धारणाको अन्त्य गर्दै समानता, मानवता, स्वास्थ्य सचेतना र सामाजिक सद्भाव कायम गर्ने उद्देश्यले ‘समाजको ऐना’ सडक नाटक सञ्चालन गरिएको त्रिवेणी नाट्य क्लवले जनाएको छ।
विषयवस्तुको छनोट: विकृतिको जीवन्त चिरफार
शीर्षक जस्तै, नाटकले नेपाली ग्रामीण समाजको भित्री र वास्तविक तस्विरलाई ऐनामा जस्तै छर्लङ्ग पारेको छ। नाटकले मुख्य रूपमा चारवटा गम्भीर सामाजिक सवालहरूलाई केन्द्रमा राखेको छ ।बालविवाहको चक्र: बालविवाहले बालबालिकाको शिक्षा, स्वास्थ्य र सुनौलो भविष्यमा कसरी पूर्णविराम लगाउँछ भन्ने मार्मिक दृश्य।जातीय छुवाछुत: समाजमा कानुन विपरीत अझै कायम रहेको विभेदको मानसिकतामाथि कडा प्रहार।लैङ्गिक असमानता: महिला र पुरुष वा छोरा र छोरीबीच गरिने विभेदकारी व्यवहारको चित्रण।अन्धविश्वासको जालो: वैज्ञानिक चेतनाको अभावमा उब्जिएका कुप्रथा र त्यसले निम्त्याएका पारिवारिक एवं सामाजिक संकट। यी गम्भीर मुद्दाहरूलाई सतही रूपमा मात्र नउठाई, यसले कसरी एउटा व्यक्तिको विकास रोक्छ र सिंगो समुदायलाई नै गरिबी र पछौटेपनको दुष्चक्रमा फसाउँछ भन्ने कुरालाई नाटकले बडो गम्भीरताका साथ केलाएको छ।
कलात्मक पक्ष र स्थानीयताको अब्बल संयोजन
त्रिवेणी नाट्य क्लबका कलाकारहरूको अभिनय सशक्त, प्राकृतिक र प्रभावकारी देखिएको छ। खुल्ला आकाशमुनि, सीमित साधन-स्रोतका बीच पनि दर्शकलाई हलचल गर्न नदिई बाँधिराख्नु रङ्गमञ्चीय दृष्टिकोणले एक ठूलो सफलता हो। नाटकको सबैभन्दा बलियो पक्ष स्थानीय भाषा, लवज र सरल संवादको प्रयोग हो। यसले गर्दा नाटक बुद्धिजिवी र जनप्रतिनिधिदेखि लिएर भुइँमान्छेसम्म (सर्वसाधारण) सजिलै पुग्न सक्यो। भाषण वा औपचारिक आमसभा भन्दा सडक नाटक जस्ता दृश्य माध्यमहरू जनचेतनाका लागि कति धेरै प्रभावकारी हुन्छन् भन्ने कुरा प्रदर्शनका क्रममा दर्शकहरूको आँखामा देखिएको भावुकता र सचेतताले प्रमाणित गर्छ।
विद्यालय केन्द्रित प्रस्तुति: भविष्यका कर्णधारलाई चेतना
यो अभियानको एउटा उत्कृष्ट रणनीति छतारा तोली र कैलाशमाडौका विद्यालय नजिकको क्षेत्र गरिएको प्रदर्शन पनि हो। किशोर-किशोरी र विद्यार्थीहरू नै भोलिको समाज बदल्ने मुख्य संवाहक हुन्। विद्यालय स्तरमै पुगेर बालविवाह र विभेद विरुद्ध विद्यार्थी र शिक्षक-शिक्षिकाहरू माझ प्रदर्शन गरिनुले आगामी पुस्तालाई यस्ता कुप्रथा विरुद्ध उभिन बलियो नैतिक बल प्रदान गरेको छ।
प्रभाव र विवेचना: समानता र मानवताको खोजी
नाटकको अन्तिम लक्ष्य समाजका विकृतिहरू औंल्याउनु मात्र होइन, बरु त्यसको समाधानका लागि सकारात्मक सोचको प्रवर्द्धन गर्नु हो। नकारात्मक परिवेशका बीच पनि समानता, मानवता र स्वस्थ वातावरण निर्माण कसरी सम्भव छ र यसमा स्थानीय निकाय तथा आम नागरिकको भूमिका के हुनुपर्छ भन्ने सन्देश नाटकले कलात्मक ढंगले छाडेको छ। नाटकले दर्शकलाई केवल 'मनोरञ्जन' मात्र दिएको छैन, बरु घर फर्कने बेला एउटा गम्भीर 'सोच र जिम्मेवारी' समेत सुम्पिएको छ।
स्थानीय सरकार (त्रिवेणी नगरपालिका), अन्तर्राष्ट्रिय साझेदार जर्मनीको सङघीय तथा विकास मन्त्रालय(Federal Ministry for Economic Cooperation and Development-BMZ) र स्थानीय गैरसरकारी संस्था (CDC डोटी) को यो सहकार्य आफैँमा एक अनुकरणीय मोडेल हो। कानुनको कार्यान्वयनसँगै नागरिकको चेतनामा परिवर्तन नआएसम्म समाज बदलिँदैन। तसर्थ, ‘समाजको ऐना’ केवल एउटा नाटक मात्र नभई सामाजिक रूपान्तरणको एउटा बलियो र सकारात्मक पहल बन्न सफल भएको छ । यस्ता रचनात्मक अभियानहरूलाई पालिकाका अन्य वडाहरू र सुदूरपश्चिमका गाउँ-गाउँमा निरन्तरता दिनु आजको आवश्यकता हो।
बाजुराकाे कलासंस्कृति झल्किएकाे देउडा गीत, बाजुरा बैकुण्ठ रैछ सार्वजनिक
कैलाशमाण्डाै,बाजुरा- बाजुरा जिल्लाकाे संस्कृति झझल्काउने देउडा गीत बाजुुरा बैकुण्ठ रैछकाे भिडियो सहित सार्वजनिक भएको छ । बाजुरा जिल्लाको








प्रतिकृया दिनुहोस