देउडामार्फत रुढीबादी परम्परा र लैङ्गिक विभेदविरुद्ध जनचेतना बृद्धि
विद्यमान बालविवाह, छाउपडी, लैङ्गिक विभेद, घरेलु हिंसा, जातीय तथा सामाजिक भेदभाव, महिलामाथि हुने हिंसा र अन्य हानिकारक सामाजिक अभ्यासविरुद्ध सन्देश प्रस्तुत
देउडामार्फत रुढीबादी परम्परा र लैङ्गिक विभेदविरुद्ध जनचेतना
-नविन अयडी
कैलाशमाडौ, बाजुरा -हानिकारक परम्परा तथा अभ्यास, लैङ्गिक असमानता र भेदभावपूर्ण सामाजिक मान्यताविरुद्ध जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको सचेतना देउडा कार्यक्रम त्रिवेणी नगरपालिका–७, कैलाशमाण्डौ डाँडामा सम्पन्न भएको छ। कार्यक्रममा आठवटा देउडा टिमको सहभागिता रहेको थियो। सहभागी देउडा खेलाडीहरूले परम्परागत देउडाको माध्यमबाट समाजमा अझै विद्यमान बालविवाह, छाउपडी, लैङ्गिक विभेद, घरेलु हिंसा, जातीय तथा सामाजिक भेदभाव, महिलामाथि हुने हिंसा र अन्य रुढीवादीग्रस्त सामाजिक अभ्यासविरुद्ध सन्देश प्रस्तुत गरेका थिए।
कार्यक्रमको मुख्य उद्देश्य मनोरञ्जनसँगै देउडा संस्कृतिलाई सामाजिक रूपान्तरणको प्रभावकारी माध्यमका रूपमा प्रयोग गर्दै समुदायमा सकारात्मक सोच र व्यवहारको विकास गर्नु रहेको आयोजकले जनाएको छ। परम्पराका नाममा पुस्तौँदेखि चलिआएका हानिकारक अभ्यासलाई पहिचान गरी त्यसविरुद्ध परिवार, समुदाय र स्थानीय तहमा संवाद तथा सचेतना बढाउनु कार्यक्रमको अर्को महत्वपूर्ण उद्देश्य रहेको बताइएको छ।
देउडा प्रस्तुतिका क्रममा सहभागी टिमहरूले महिला र पुरुषबीच समान अधिकार तथा अवसर, छोरी र छोराबीच समान व्यवहार, बालबालिकाको अधिकार, महिनावारीसम्बन्धी विभेदको अन्त्य, महिलाको निर्णय प्रक्रियामा सहभागिता तथा हिंसामुक्त समाज निर्माणलगायतका विषयलाई सिर्जनात्मक रूपमा प्रस्तुत गरेका थिए।
स्थानीय भाषा, लय र मौलिक संस्कृतिमा आधारित देउडामार्फत सामाजिक विषयवस्तु प्रस्तुत गरिएकाले कार्यक्रमले सहभागी तथा दर्शकको ध्यानसमेत आकर्षित गरेको थियो। देउडा खेलाडीहरूले गीतकोमाध्यमबाट समाजमा रहेका गलत मान्यता र व्यवहारमाथि प्रश्न उठाउँदै समानता, सम्मान र सामाजिक न्यायका पक्षमा सन्देश दिएका थिए।
आयोजकका अनुसार सामाजिक कुरीति र रुढीवादी अभ्यास कानुनी तथा नीतिगत प्रयासबाट मात्रै अन्त्य गर्न कठिन हुने भएकाले समुदायस्तरमै निरन्तर संवाद र जनचेतना आवश्यक छ। स्थानीय कला, संस्कृति र परम्परालाई सामाजिक परिवर्तनसँग जोडेर सञ्चालन गरिने यस्ता कार्यक्रमले नागरिकलाई आफ्नै भाषा र संस्कृतिमार्फत सचेत बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
त्रिवेणी नगरपालिका–७ कैलाशमाण्डौ डाँडामा सम्पन्न कार्यक्रमले देउडा केवल मनोरञ्जनको माध्यम नभई सामाजिक जागरण, समानता र सकारात्मक परिवर्तनका लागि प्रभावकारी सञ्चार माध्यम पनि बन्न सक्छ भन्ने सन्देश दिएको छ। हानिकारक परम्परा तथा अभ्यासको अन्त्य र भेदभावरहित समाज निर्माणका लागि घरपरिवारदेखि समुदायसम्म सबैको साझा प्रयास आवश्यक रहेको सहभागीहरूले बताएका छन्। सामुदायिक विकास केन्द्र (CDC) डोटीको आयोजना तथा जर्मनीको सङ्घीय आर्थिक सहयोग तथा विकास मन्त्रालय (Federal Ministry for Economic Cooperation and Development–BMZ) को आर्थिक सहयोग र जर्मन अन्तर्राष्ट्रिय सहयोग संस्था (Deutsche Gesellschaft für Internationale Zusammenarbeit–GIZ) को प्राविधिक सहयोगमा कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रम त्रिवेणी संचार सहकारी संस्था लिमिटेड(रेडियो बडीमालिका ९५.२) मेगाहर्जका काबा अध्यक्ष दिपकबहादुर साउदको अध्यक्षतामा सम्पन्न भएको थियो ।
रङ्गमञ्चबाट बाजुरामा सामाजिक रूपान्तरणको बहस: ‘समाजको ऐना’ सडक नाटक सामाजिक रूपान्तरणको एउटा बलियो र सकारात्मक माध्यम बन्न सफल
रङ्गमञ्चबाट बाजुरामा सामाजिक रूपान्तरणको बहस: ‘समाजको ऐना’ सडक नाटक सामाजिक रूपान्तरणको एउटा बलियो र सकारात्मक माध्यम बन्न सफल -खेम
बाजुराकाे कलासंस्कृति झल्किएकाे देउडा गीत, बाजुरा बैकुण्ठ रैछ सार्वजनिक
कैलाशमाण्डाै,बाजुरा- बाजुरा जिल्लाकाे संस्कृति झझल्काउने देउडा गीत बाजुुरा बैकुण्ठ रैछकाे भिडियो सहित सार्वजनिक भएको छ । बाजुरा जिल्लाको








प्रतिकृया दिनुहोस